
काठमाडौं । सरकारले सिंहदरबार प्रवेश गर्दा कानुन व्यवसायीहरूले गेट पास लिनुपर्ने व्यवस्था गरेको छ ।
कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउने व्यवस्थालाई रोक लगाउँदै रास्वपाका बालेन शाह नेतृत्वको सरकारले नयाँ गेट पास लिनुपर्ने व्यवस्था सुरू गरेको हो ।
नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको र सहजीकरणको प्रयास भइरहेको जानकारी दिए । सिंहदरबारभित्र प्रशासकीय अदालत छ । जहाँ कानुन व्यवसायीहरू वकालत गर्न पुग्ने गर्छन् ।
अदालतका रजिस्ट्रार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानुन व्यवसायीले नागरिक एपको सिंहदरबार गेट पास लिनुपर्ने व्यवस्था भएको जानकारी दिएका छन् । अन्य मन्त्रालयमा काम भए सम्बन्धित निकायमै समन्वय गर्न भनिएको छ ।
बहुदल व्यवस्था आएपछि स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङले कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न मिल्ने व्यवस्था सुरू गरेका थिए । त्यसबेला नेम्वाङ बारका पूर्वमहासचिव समेत थिए ।
त्यसमा अहिलेको सरकारले रोक लगाएको हो । यसरी रोकेपछि बारले कानुन मन्त्री, कानुन सचिव, गृहसचिव, महान्यायाधिवक्ता लगायतको ध्यानाकर्षण गराएको कोइरालाले बताए ।










