
काठमाडौं । कर्णाली प्रदेशसभाका सचिव जीवनराज बुढाथोकीले राजीनामा दिएका छन् । उनले आज प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् ।
कर्णाली प्रदेश प्रमुख कार्यालयकी सूचना अधिकारी मनमाया काउचाले बुढाथोकीको राजीनामा पत्र आएको जानकारी दिइन्। उद्यपी उनको राजीनामा स्वीकृत भने हुन बाँकी रहेको उनले बताइन् ।
२०७६ जेठ १२ मा प्रदेश सचिव नियुक्त भएका बुढाथोकी २०८१ जेठ १३ मा दोस्रोपटक पुनः प्रदेश सभा सचिवमा दोहोरिएका थिए ।
६५ वर्ष उमेर पूरा भए पनि पदबाट राजीनामा नदिएपछि उनको चौतर्फि आलोचना भएको थियो । २०१७ चैत ४ गते जन्मिएका बुढाथोकी २०८२ चैत ४ गते ६५ वर्ष पूरा भएका थिए ।
प्रदेश सभा सचिवालयसम्बन्धी ऐन, २०७५ को दफा ८ को खण्ड (घ) मा सचिवको योग्यता ४० वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । तर, सचिव बुढाथोकीको उमेर हद ६५ वर्ष पूरा भएको २१ दिनपछि राजीनामा दिएका हुन् ।
दोहोरो सुविधा लिनेदेखि स्वकीय सचिवमा आफ्नै श्रीमतीको नाम राखेर भुक्तानी लिएको भन्दै उनको आलोचना भएको थियो ।
दोहोरो सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । त्यसपछि उनले ३१ लाख ६९ हजार ९ सय २३ रुपैयाँ फिर्ता गरेका थिए ।










