काठमाडौं । रुपन्देहीका क्यासिनोको बदमासी यति छ भनिसाध्य छैन । जिल्लामा ९ वटा साना र एउटा ठूलो गरी १० वटा क्यासिनो संचालनमा छन् । यी क्यासिनाका अधिकांश ग्राहक नेपाली हुन् । नेपाली प्रवेश गराइरहने क्यासिनोले प्रमुख जिल्ला अधिकारी (सिडिओ), प्रहरी प्रमुख, वडा प्रहरी प्रमुख, इप्रका बेलहिया प्रहरी प्रमुख, इप्रका बुटवल प्रमुख, सशस्त्र प्रहरी जिल्ला र बीओपी प्रमुखहरुलाई सेटिङ मिलाउँछन् ।

बुधवार राति मात्रै रुपन्देहीको तिलोत्तमा-५, मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोमा जाँच गर्दा जुवा खेलाउने र खेलिरहेका नेपाली नागरिकसहित नगद र दशीका सामानसहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । यसले पनि रुपन्देहीका क्यासिनोको बदमासी उजागर गर्छ । केही महिना अघि मात्रै भैरहवाको निर्माणा होटलमा सञ्चालित क्यासिनोमा नेपाली र भारतीय ग्राहकबीच झगडा हुँदा नेपालीमाथि भारतीयले गोली नै चलाएका थिए ।
भैरहवाको होटल निर्वाणामा सञ्चालित क्यासिनो गोल्डेन स्टार, होटल लाकौलमा सञ्चालित ह्याप्पी आवर प्रालिको ह्याप्पी आवर ग्यामिङ क्लब (क्यासिनो) र नान्स होटलमा सञ्चालित सिद्धार्थ ग्यामिङ जोनद्वारा सञ्चालित क्यासिनो प्याराडाइज छन् ।
मिनी क्यासिनो संचालनका लागि कम्तिमा चारतारे होटल हुनुपर्नेमा लाकौल होटल गेष्ट हाउस हो । तर, मिलेमतोमा गेष्ट हाउसमै क्यासिनो संचालन गरिएको छ । भैरहवाको मौर्य होटलमा रहेको अपूर्व ग्यामिङ जोन प्रालिद्वारा सञ्चालित ग्याबलिङ ग्यालेक्सी, एशियन बुद्ध होटलमा सञ्चालित एलिगेन्ट इन्टरटेनमेन्ट प्रालि र मणिग्रामको ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा सञ्चालित सीएमजी क्यासिनो छन् ।
यस्तै, भैरहवाको होटल बोधी रेडसनमा विन स्टार क्यासिनो, गौतमबुद्ध इन्टरनेशनल होटलमा मनलक्ष्मी इन्टरप्राइजेजद्वारा सञ्चालित रोयल कालिङ्गा मिनि क्यासिनो छन् । यी मिनी क्यासिनो सञ्चालित होटल नाम मात्रेको चारतारे भए पनि कुनै मापदण्ड पुगेको छैन । यहाँ मिनी क्यासिनो सञ्चालनमा रहेको भैरहवा गार्डेन रिसोर्टको क्यासिनोमा मात्रै मापदण्ड छ ।
यस्तै, रुपन्देहीको तारे होटल टाइगर प्यालेस बाई सोल्टीमा क्यासिनो रवि सञ्चालनमा छ । यो दक्षिण एसियाकै ठूलो क्यासिनोमध्ये पर्छ । यो ठूलो क्यासिनो हो भने यसले अन्य भन्दा केही हदसम्म मापदण्ड पालना गरेको छ ।
क्यासिनो नियमावली २०८२ को मापदण्ड अनुसार जिल्लामा सञ्चालित कुनै पनि क्यासिनोले मापदण्ड पालना गरेका छैनन् । प्रशासन स्रोत भन्छ- ‘हामीले अनुगमन त गरेका छैनौँ, तर मापदण्ड ५० प्रतिशत पनि पालना छैन । यो कुरा क्यासिनो सञ्चालकले नै स्वीकारेको कुरा हो ।’ यस्तै, क्यासिनोले नेपाली प्रवेश गराउने, क्यासिनो खेल्न जानेहरुको विवरण इन्ट्री नगर्ने गरेको पाइएको छ ।
क्यासिनोमा ग्राहक प्रवेश गर्दा गेटमा डिटेक्टर मेसिनले जाँच गर्नुपर्ने हुन्छ, तर एकदुईवटा क्यासिनोले यो मापदण्ड पालना गरे पनि अधिकांशले गरेका छैनन् । प्रशासन भन्छ- ‘लाभकर लगायतका कर छलीका लागि क्यासिनो खेल्न जानेको विवरण समेत इन्ट्री नगरेर क्यासिनोले बद्मासी गरिरहेका छन् ।’ यस्तै, प्रशासनले क्यासिनो सञ्चालकले सीसीटीभी फुटेज माग्दा समेत नदिएको गुनासो गरेको छ ।
रुपन्देहीका क्यासिनोले नक्कली आधार कार्ड बनाएर क्यासिनोमा नेपाली प्रवेश गराउने गरेको आरोप लाग्दै आएको छ । यसको पुष्टि गएरातिको छापालाई पनि लिन सकिन्छ । क्यासिनोमा कर छलीका भारतीय मदिराको प्रयोग हुँदै आएको छ ।
यस्तै, नियम अनुसार मिनी क्यासिनोले मेसिनबाट मात्रै गेम खेलाउन पाउनेमा खुलेयाम टेबल राखेर जुवा खेलाउँदै आएका छन् । यसरी जुवा खेलाएरै एउटै क्यासिनोले दैनिक १५ लाखसम्म अवैध पैसा आर्जन गर्ने गरेका छन् । यसरी आर्जित रकममा उनीहरूले कुनै किसिमको कर तिर्नु पर्दैन । त्यही कारण प्रहरी-प्रशासन, प्रदेश प्रहरी, पर्यटन विभागसम्म अवैध आर्जन गरेको पैसाले आफ्ना गल्ती ढाकछोप गर्दै आइरहेका छन् ।
यस्तै, भैरहवा क्षेत्रका क्यासिनोमा अवैध हुण्डीको कारोबार समेत हुने गरेको भन्दै लामो समयदेखि आवाज उठ्दै आएको छ । यही कारण पनि नेपाल ग्रेलिस्टमा परेको अर्थतन्त्रका जानकारहरु बताउँछन् । यहाँका क्यासिनोमा दिउँसोमा भारतीय ग्राहक धेरै भए पनि रातिको समयमा ७० प्रतिशत नेपालीहरु नै क्यासिनो खेल्ने गरेका छन् ।
भैरहवाको लाकौल होटल, नान्स, निर्वाणा, मौर्य र एशियन बुद्धमा सञ्चालित क्यासिनोमा सबैभन्दा बढी बद्मासी हुने गरेको छ । रुपन्देहीमा सञ्चालित क्यासिनो मध्ये टाइगर प्यालेस बाई सोल्टी बाहेक सबै मिनी क्यासिनो हुन् । मिनी क्यासिनोले थोरै रोयल्टी तिरेर ठूलो क्यासिनो सहर टेबल राखेरै जुवा खेलाइरहेका छन् । नयाँ सरकारलाई यी क्यासिनोहरुको अवैध काम नियन्त्रण गर्न निकै सकस हुने बताइन्छ ।
प्रहरी, राजनीतिक दलका नेता तथा सांसद र विभागदेखि मन्त्रालयसम्म सेटिङमा क्यासिनोमा अवैध काम हुँदा समेत आर्थिक प्रलोभनमा परेर कुनै निकाय चुइँक्क बोल्दैनन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई क्यासिनो सञ्चालकसँग मिलेमतो गरेको गम्भीर आरोप लाग्दै आए पनि यसबारे गृहमन्त्रालयले कुनै चासो देखाएको छैन ।
यदि, क्यासिनोलाई कानुनी दायरमा ल्याउने हो भने सिसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने यहाँका सरोकारवालाको माग छ । नियम अनुसार क्यासिनोले ६ महिनाको सिसिटीभी फुटेज राख्नुपर्छ । भैरहवाका क्यासिनो क्लब नै बनाएर मिनी क्यासिनो सञ्चालकले सिडीओ र प्रहरी अधिकारीहरूलाई मासिक बुझाउने गरेको दाबी गरिएको छ ।
गृहमन्त्री सुधन गुरुङलाई यसबारे जानकारी नभएकाले क्यासिनोतर्फ ध्यान नदिएको हुनसक्ने बताइएको छ । नेपालमा अवैध काम हुने मध्ये सबैभन्दा बद्मासी हुने क्यासिनो बनेका छन् ।
भैरहवा क्षेत्रका क्यासिनोहरुमा अपराध समेत बढ्दो छ । नान्स, मौर्य र निर्वाणामा सञ्चालित क्यासिनोमा आउने भारतीय ग्राहकहरुको पैसा समेत लुटिने गरेको छ । सीमावर्ती भारतीय व्यापारीहरुले बेलाबेला यहाँका क्यासिनोका विरुद्ध आन्दोलन नै गर्ने गरेका छन् ।
रुपन्देही प्रहरी प्रमुखले अहिले क्यासिनोको पैसा खाँदैन भनेर अडान लिएकै कारण उनलाई माथिल्ला तहका केही प्रहरी अधिकारीले दबाब दिएर अनावश्यक टर्चर गरिरहेको प्रहरी स्रोत बताउँछ । क्यासिनोको पैसा खान सिडीओदेखि केही उच्च प्रहरी अधिकारीको दबाब आएको बताइन्छ । स्रोतका अनुसार रुपन्देहीका क्यासिनोबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका नाममा समेत बिचौलियाहरूले मासिक असुली गर्ने गरेका छन् । तर, क्यासिनोको पैसा लिन कार्की इच्छुक नदेखिएको र उनको नाम बेचेर पैसा उठाउने गरेको सायद आइजी कार्कीलाई थाहा नभएको स्रोतको दाबी छ ।
‘भैरहवाका क्यासिनोमा एकैपटक छापा हान्न पर्छ, सबै कुरा उदाङ्गो हुन्छ’, एक क्यासिनोमा काम गर्ने कर्मचारीले भने, ‘नेपाली प्रवेश, हुण्डी कारोबार, भारतीय मदिरा प्रयोग, टेबल राखेर जुवा खेलाउने सबै कुरा छर्लङ्ग हुन्छ ।’ ती कर्मचारीले गृहमन्त्री सुधन गुरुङलाई सबै क्यासिनोको ६ महिनाको सीसीटीभी फुटेज हेरेमा तथ्य आफैँ खुल्ने स्रोतले बताएको छ । ‘सीसीटीभी फुटेज हेर्दा बित्तिकै दैनिक एउटा क्यासिनोले १५ लाखसम्म कर छलीको पैसा आर्जन गरेको कुरा पत्ता लाग्छ’, ती कर्मचारीले भने, ‘वार्षिक रोयल्टीको तीन गुणा मिनी क्यासिनोले एक महिनामै कर छली गर्छन् । त्यसैले क्यासिनो सञ्चालन गर्नुको कुनै अर्थ छैन ।’










