काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने गाडीको भाडादर समायोजना गरेको छ । यो काठमाण्डौ उपत्यकाभित्र र काठमाण्डौबाट बागमती प्रदेशभित्रका अन्य ठाउँहरूमा सञ्चालन हुने गाडीका लागि समायोजना गरिएको भाडादर हो ।

बागमती प्रदेश सरकारको राजपत्र अनुसार भोलिदेखि लागू हुनेगरी ५ किलोमिटर सम्मको भाडादर २४ रुपैयाँ, १० किलोमिटर दूरीको ३३ रुपैयाँ, १५ किलोमिटर सम्मको ३९ रुपैयाँ, २० किलोमिटर यात्रा गर्दा ४४ रुपैयाँ र त्यो भन्दा माथि ५० रुपैयाँ समायोजना गरिएको छ ।
यस्तै ट्याक्सीको हकमा भने शुरुवाती शुल्कबापत न्यूनतम ५८ रुपैयाँ तिर्नुपर्छ भने प्रति २०० मिटरमा १२ रुपैयाँ भाडा कायम गरिएको छ ।
काठमाण्डौबाट लामो दुरीमा प्रदेशभित्र सबैभन्दा बढी भाडा नयाँ वसपार्क–खुर्कोट–मन्थली–तामाकोशी–जिरीसम्मको एक हजार २१८ छ भने सबैभन्दा कम भाडा काठमाण्डौ–कलंकी पेट्रोलपम्प–रातमाटे नागढुङ्गा–दहचोकसम्मको भाडा ६० रुपैयाँ कायम गरिएको छ ।
प्रदेशभित्रको भाडादर प्रदेश सरकारले तोक्ने नियम छ । अन्तर प्रदेश भाडादर भने केन्द्रीय सरकारले यसअघि सार्वजनिक गरिसकेको छ ।
















