Logo
Logo

काठमाडौंमा वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा


756
Shares

काठमाडौं  । रात्रिकालीन बस सेवा सञ्चालन गर्ने रुटअन्तर्गत वुढानीलकण्ठदेखि बेलुका ८ बजे छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक पुगेको थियो । लगनखेल पुग्दा ८ बजेर ४६ मिनेट भएको थियो ।

सवारी चापका कारण यो बसले जमल क्षेत्रमा केही समय रोकिनु परेको थियो । थानकोटबाट ८ बजे छुटेको बस २१ मिनेटमा कलंकी चोक र ४५ मिनेटमा एअरपोर्ट पुगेको थियो । २०८३ वैशाख १ गतेदेखि सञ्चालन गर्न लागिएको रात्रिकालीन बस सेवालाई हरेक २० मिनेटमा हरेक स्टेशनमा प्राप्त हुने गरी तालिका मिलाउन साझा यातायातले रुटमा बस चलाएर अवस्था अध्ययन गरेको हो । 

बस सेवाहरू हरेक रुटका सुरु र अन्तिम विन्दुबाट गुड्नेछन् । अर्थात् दक्षिण रुटमा चल्ने एउटा सवारी साधन ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ । अर्को बस बुढानीलकण्ठबाट गङ्गालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ । नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट एउटा बस छुट्नेछ । यसरी ३ वटा विन्दुबाट बस गुडेपछि हरेक बस विसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ । यो सडकको एकतर्फी दुरी १६ किलोमिटर हो । 

पूर्वपश्चिम रुटको दुरी २० किलोमिटर  छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमान स्थलका लागि छुट्नेछ । अर्को बस विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ ।  नयाँ सडक गेट अगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थल तर्फ छुट्नेछ । यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस विसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन् । 

यसरी बस सञ्चालन गर्दा नयाँ सडक गेट अगाडिको भाग मुख्य चोक बन्नेछ । यो ठाउँमा पुगेपछि यात्रीहरुले एउटा रुटबाट अर्को रुटमा जाने बस पाउनेछन् । रात्रिकालीन बस सेवा सञ्चालनका लागि बस गुड्ने क्षेत्रका नगर प्रमुखहरू र साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधि बिच बैठकमा साझा यातायातका सहायक प्रबन्धक जनक रिसालले प्रस्तुतिकरण मार्फत तयारीका क्रममा अभ्यासले देखाएको तथ्य र अवस्था जानकारी गराएका हुन् । 

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरी नगरपालिकाका प्रमुख धनश्याम गिरी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, साझा यातायात सञ्चालक समितिका अध्यक्ष शुशिल प्याकुरेलसहित पदाधिकारी सहभागी थिए ।   

बस सञ्चालनको प्रारम्भमा ७ वटा बसबाट सेवा सुरु हुनेछ । हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सीसीटिभी क्यामराकबाट निगरानी हुनेछ । यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले कसैले कुनै सामान छुटे प्राप्त गर्न सकिनेछ । कसैले दुर्व्यवहारको प्रयास गर्छ भने तत्काल नियन्त्रणमा लिन सकिनेछ । यात्रीहरूको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले हरेक बसका १ जना नगर प्रहरी खटाउनेछ । 

बैठकमा सुरक्षित यात्रा, गन्तव्य र बस पुग्ने समयका विषयमा जानकारी प्राप्त हुने प्रणाली, सहभागिता, नागरिकको बस सेवामा आकर्षण, सेवामा बसको सङ्ख्या र समय बढाउने, डिजिटल भुक्तानी प्रणालीलगायत विषयमा छलफल भएको थियो । यस्तै सेवा विस्तार गर्दा चक्रपथमा गाडी गुडाउन सकियो भने विमानस्थल र बसपार्क जोडिने विषयमा कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्