
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताएका छन्। महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले सेनाको संस्थागत हित र राष्ट्रको सार्वभौमिकता रक्षाका लागि अवकाश प्राप्त सैनिकहरूले पु¥याएको योगदान अविष्मरणीय रहेको उल्लेख गरेका हुन् ।
नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जालाई समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकका रूपमा प्रस्तुत हुँदै स्थानीय स्तरमा उत्पादनशील र उद्यमी बन्न उनले आग्रह गरे । नेपाली सेनाको कल्याणकारी कोषका सुविधाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा हिताधिकारीहरूको पहुँच विस्तार भइरहेको जानकारी दिए ।
प्रधानसेनापति सिग्देलले देशको आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भूमिकाले संस्थालाई विश्वमै विश्वसनीय र सम्मानित बनाएको दाबी गरे । हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सेनाले देखाएको कार्यकुशलताको प्रशंसा गर्दै उनले स्थानीय स्तरमै सृजनशील बन्न अवकाश प्राप्त सैनिकहरूलाई उत्प्रेरित गरे ।
कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य अपरिहार्य रहेको उनको ठहर छ । सम्मेलनमा सहभागीहरूले प्रदर्शन गरेको उत्साहपूर्ण मार्च पासले उनीहरूमा अझै पनि सैनिक जोश र राष्ट्रप्रतिको प्रतिबद्धता जीवितै रहेको झल्काएको भन्दै उनले सेवारत सैनिकहरू यसबाट थप उर्जावान भएको बताए ।
नेपाली सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान दिएको चर्चा गर्दै सिग्देलले पुर्खाहरूको बलिदानलाई स्मरण गरे । वर्तमान र भविष्यका चुनौतीहरूको सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा सेनालाई विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उनले प्रस्ट पारे ।
सेनाको व्यावसायिक चरित्र र निष्पक्षताले विश्व सामु नेपाल र नेपालीको शीर उच्च राख्न उल्लेखनीय योगदान दिएको उनको भनाइ छ । कल्याणकारी कोषले विस्तार गरिरहेको सञ्जालमा अनुशासित र व्यवस्थित तवरले आबद्ध रहन आग्रह गर्दै उनले ‘बहुजन हिताय, बहुजन सुखाय’ को आदर्श वाक्यलाई आत्मसात् गरी हिताधिकारीहरूको जीवनस्तर सुधार गर्न प्रयास जारी रहेको बताए ।
कल्याणकारी कार्यहरूलाई विवरणमुखी भन्दा पनि परिणाममुखी, आत्मनिर्भर र आयमूलक बनाउन आवश्यक देखिएको भन्दै प्रधानसेनापतिले यसका लागि सरकारसँगको समन्वय वा आन्तरिक स्रोतबाट हरसम्भव प्रयास भइरहेको जानकारी दिए । सैनिक व्यक्ति सेवामा रहँदा मात्र नभई अवकाशपछि पनि समाजको रोल मोडल बन्नुपर्नेमा उनले जोड दिए ।
सम्मेलनमा मध्य पृतना अन्तर्गतका विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उल्लेख्य उपस्थिति रहेको थियो । यस वर्षको सम्मेलन ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो ।











