
काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्नहरुको प्रोफाइल तयार पारेको छ । पछिल्लो समय गुण्डागर्दीविरुद्ध आक्रमक अभियान चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दीमा संलग्न १ हजार ९७ जनाको प्रोफाइल तयार पारेको हो ।
अहिलेसम्म १ हजार ९७ जनाको प्रोफाइल तयार पारिएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमारर भट्टराईले जानकारी दिए ।
यो एक हजार ९७ जनामा गुण्डागर्दीमा संलग्नदेखि अन्य आपराधिक पृष्ठभूमिका व्यत्तिहरुको पनि नाम समेटिएको छ ।
जसमा विगतमा गुण्डागर्दीको आवरणमा विभिन्न धन्दा गरेका, पटक–पटक पक्राउ परेर मुद्दा चलेका र सामाजिक सञ्जालमार्फत आफ्नो समूहको बिस्तार गर्दै प्रचार प्रसार गर्नेहरुसम्म रहेका छन् ।
यस्ता व्यक्तिको फोटो, नाम, ठेगाना, पेसा, सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम), उनीहरुको कनेक्शन तथा नेक्सस, पारिवारिक पृष्ठभूमि, ट्राभल हिस्ट्री र अन्य रिलेटेड डकुमेन्टसहितको प्रोफाइल तयार पारिएको प्रहरीले बताएको छ ।
यसरी प्रोफाइल तयार पारेपछि उनीहरुको गतिविधि निगरानी गर्नेदेखि कुनै आपराधिक घटना गराइहालेमा तत्काल कानूनी दायरामा ल्याउन सहयोग पुग्ने प्रहरीले बताएको छ । गुण्डागर्दीसँगै लागु औषध, चोरी घटनाका पटेकहरु पनि प्रोफाइल तयार पार्ने काम भएको छ ।











