Logo
Logo

‘फेक अडियो’ बनाएको आरोपमा वरिष्ठ सई जबरा निलम्बित


2.4k
Shares

काठमाडौं । आफ्नै कार्यालय प्रमुख र प्रहरी संगठनको छवि धुमिल बनाउन नक्कली अडियो निर्माण गरी सार्वजनिक गरेको आरोपमा मधेस प्रदेश प्रहरीले एक वरिष्ठ प्रहरी अधिकारीलाई निलम्बन गरेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) सागर शमशेर जबरालाई प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै निलम्बनको प्रक्रिया अगाडि बढाएको हो ।

प्रहरीका अनुसार जबराले एक व्यापारीलाई फोन गरी बनावटी कथा रचेर अडियो बनाएका थिए । उक्त अडियो उनले मिडियामार्फत प्रसारण गर्न लगाएको प्रहरीको दाबी छ । संगठन र कार्यालय प्रमुखलाई विवादमा तान्ने र बदनाम गराउने बदनियतका साथ ‘फेक अडियो’ तयार पारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जबराले प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिमको आचरण उल्लंघन गरेको ठहर गर्दै निलम्बनको कदम चालिएको सहायक प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन् ।

“कानून विपरीतका सामग्री बनाई नेपाल प्रहरी संगठनलाई नै बदनाम गर्ने उद्देश्यले प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा निजलाई प्रहरी नियमावली बमोजिम निलम्बन गर्न प्रक्रिया अगाडि बढाइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता भ्रामक, तथ्यहीन र प्रायोजित सूचनाहरूको पछि नलाग्न आम सञ्चार माध्यम र सर्वसाधारण नागरिकलाई प्रहरीले आग्रह गरेको छ । घटनाको विषयमा कार्यालयबाट थप सूक्ष्म अनुसन्धान र छानविन भइरहेको र सत्य–तथ्य विवरण छिट्टै सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्