Logo
Logo

शक्तिसङ्घर्षमा गगन थापा र विश्वप्रकाश शर्मा


630
Shares

काठमाडौं । प्रतिनिधिसभा चुनाव सम्पन्न भएको लामो समय बितिसक्दा पनि नेपाली काँग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । कांग्रेस प्रतिनिधिसभाको पहिलो अधिवेशन सकिएर दोस्रो अधिवेशनमा प्रवेश गर्न लाग्दा समेत दलको नेतृत्व छान्ने प्रक्रिया अल्झिरहेको छ ।

पार्टीले वैशाख ४ गते नेता चयन गर्ने तय गरेको थियो । सहमति नजुटेपछि वैशाख ११ गते शुक्रवार मनोनयन दर्ता गर्ने तालिका बनाइएको थियो । तर, अन्तिम समयमा उक्त कार्यक्रम स्थगित गरियो ।

अब सर्वसम्मतिमा नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा महामन्त्रीहरू सम्मिलित समितिलाई जिम्मेवारी दिइएको छ । 

संसदीय दलको नेताका लागि सांसद अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य आकाङ्क्षी रहेका छन् । सभापति गगन थापाले मोहन आचार्यलाई र उपसभापति विश्वप्रकाश शर्माले भीष्मराज आङ्देम्बेलाई अघि सारेका छन् ।

आचार्य प्रत्यक्ष निर्वाचित सांसद हुन् भने आङ्देम्बे समानुपातिक सूचीबाट आएका हुन् । अर्का नेता अर्जुननरसिंह केसीले अनुभव, प्रभावकारी भूमिका र मापदण्डका आधारमा आफू उपयुक्त रहेको तर्क गर्दै आएका छन् ।

विशेष महाधिवेशनमा सहभागी भएका आङ्देम्बे त्यसअघि देउवा पक्षका मानिन्थे । प्रतिनिधिसभामा देउवा पक्षका केही नेताहरू पनि सांसदका रूपमा निर्वाचित भएका छन् ।

शक्तिसङ्घर्ष मुख्यतया सभापति थापा र उपसभापति शर्मा रहेका छन् । यी दुई नेताहरू आआफ्नो शक्तिसन्तुलन मिलाउनेतर्फ लागेका छन् । तर, सभापति थापा र उपसभापति शर्मा दुवैले सार्वजनिक रूपमा कुनै नेतालाई समर्थन गर्ने वा गरिरहेको खुलाएका छैनन् ।

कांग्रेसमा सभापति थापा र उपसभापति शर्माबीच शक्ति सन्तुलन र भविष्यको राजनीतिक समीकरणको खेल पनि चलिरहेको छ । महामन्त्री गुरुराज घिमिरेले दुई-तीन दिनभित्रै छलफल सुरु गरेर सकेसम्म सर्वसम्मतिमा, नभए मतदानबाट नेता चयन गर्ने बताएका छन् । 

प्रमुख प्रतिपक्षी दलले अझै नेता चयन गर्न नसक्दा संवैधानिक परिषद् समेत अपूर्ण छ । अन्य साना ठूला दलहरूले भने संसदीय दलको नेता छानेर काम थालिसकेका छन् । कांग्रेसको यो आन्तरिक द्वन्द्वले संसद्मा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न कठिनाइ थपिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्