
काठमाडौं । पर्साका विभिन्न स्थानमा रहेको अतिक्रमण हटाउने अभियानले तीव्रता पाएको छ । अभियानअन्तर्गत आज गण्डक नहर क्षेत्रका दुई स्थानका ७ भन्दा बढी भौतिक संरचना हटाइएको छ ।
अभियानअन्तर्गत पहिलो दिनमै वीरगञ्जस्थित गण्डक नगर क्षेत्रको ३२५ भौतिक संरचना हटाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आइतबारदेखि सुरु गरिएको उक्त अभियानमा बिहानैदेखि डोजर प्रयोग गरी संरचनाहरू हटाइएको हो ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकृत तथा इन्जिनियर सुरेश साहका अनुसार पर्साका विभिन्न स्थानीय तहमा पर्ने गण्डक नहर क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । उनका अनुसार अभियानमा चारवटा डोजर परिचालन गरिएको थियो ।
जगरनाथपुर गाउँपालिकास्थित नेपाल प्रवेश बिन्दुदेखि सखुवा प्रसौनीको महुवनसम्म तथा वीरगञ्जको गण्डक चोकदेखि महुवन चोकसम्मका संरचना हटाइएका छन् ।
महुवन क्षेत्रमा पारसनाथ मठको जग्गा अतिक्रमण गरी बनाइएका करिब ४० घरसमेत भत्काइएको इन्जिनियर साहले जानकारी दिए । पछिल्ला वर्षहरूमा नहर क्षेत्रमा अतिक्रमण तीव्र रूपमा बढ्दै गएपछि यस्तो अभियान आवश्यक भएको उनले बताए । स्थानीय प्रशासनले तीन दिनअघि नै सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएको थियो, जसअनुसार केही संरचना स्थानीयवासीले आफैँ हटाएका थिए ।
यसैबीच, मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको पहलमा पर्साको सखुवा प्रसौनी गाउँपालिका– ५ स्थित गण्डक नहर किनारमा रहेको गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान पनि तीव्र बनाइएको छ । उक्त क्षेत्रमा ५ बिघा जग्गा खाली गराइएको छ ।
गाउँपालिका अध्यक्ष यशवन्त यादवका अनुसार सो क्षेत्रमा बिहानैदेखि सातवटा डोजर प्रयोग गरी अतिक्रमण हटाउने कार्य गरिएको हो । हालसम्म ३८० वटा घरटहरा हटाइसकिएको उनले जानकारी दिए । गाउँपालिकाले विगत दुई वर्षदेखि अतिक्रमण हटाउने प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन ।
केही दिनअघि मन्त्री महतो स्वयम् स्थलगत निरीक्षणमा पुगेपछि अभियानले तीव्रता पाएको उनको भनाइ थियो । त्यस्तै, सोही गाउँपालिकाको मधुवन क्षेत्रमा रहेको गुठीको थप २९ बिघा अतिक्रमित जग्गा खाली गराउने कार्य पनि जारी रहेको छ ।











