काठमाडौं । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको एक विद्युतीय माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिकै उक्त सवारी दुर्घटना भएको हो।

बा १३ च २९४१ नम्बरको माइक्रोबस दुर्घटनामा पर्दा १२ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेहरूको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुमान अनुसार तीव्र गतिका कारण सवारी अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने बताइएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











