काठमाडौं । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि आङ्देम्बेको नाममा सहमति जुटाएको हो । पूर्वसहमहामन्त्री अर्जननरसिंह केसीले दलको नेताको दाबी छाडेपछि आङ्देम्बेको नाममा सहमति जुटेको हो ।

केसीका साथै सांसदहरू मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवलगायतले दलको नेतामा दाबी गरेका थिए ।
आङदेम्बेलाई पार्टीको पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद हुन् । आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले आङदेम्बेका नाम सर्वसम्मतका लागि पेश गर्नेछन् ।
केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन भएपछि आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने दलको बैठकले नेता चयन गर्नेछ ।
गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा सभापति थापासहित सबै शीर्ष नेता पराजित भएपछि समानुपातिक सांसद आङदेम्बेलाई दलको नेता बन्ने मौका मिलेको हो । कांग्रेसको १४औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबाट आङ्देम्बे सहमहामन्त्रीमा निर्वाचित भएका थिए । पुस २७-३० मा सम्पन्न विशेष महाधिवेशनको पनि उनी विपक्षमा थिए ।
देउवा र थापा पक्षसँग समदुरीको सम्बन्धमा बसेका आङदेम्बे संसद्मार्फत थापाको पक्षमा प्रष्ट उभिएका थिए । शनिवार मात्र आङ्देम्बे सामाजिक सञ्चालमार्फत आफू सभापति थापाको स्पिरिड अनुसार अगाडि बढेको भन्दै समूहको लेबल नलाउन आग्रह गरेका थिए ।











