Logo
Logo

नेकपामा संयमताको खाँचो


- शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

मंसिर ३ गते दिउँसो १ बजे बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठक अचानक स्थगित भयो, र सोही समय प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए । पूर्वनिर्धारित समयमा बोलाइएको सचिवालय बैठककै समय प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुलाई धेरैले अर्को अध्यादेश ल्याउने सम्भावनाका रुपमा बुझे । मन्त्रिपरिषद्का कतिपय सदस्यहरु आकस्मिकरुपमा बोलाइएको बैठकबाट झस्किए । वास्तवमा यो मनोवैज्ञानिकरुपमा मन्त्रीहरुको नियतलाई बुझ्ने रणनीति थियो । यसले खुमलटार, कोटेश्वर र डल्लुमा तनाव बढायो । उता प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीबीच बारम्बार भेटघाट भएको खबरले नेकपाका नेताहरुको मनमा चिसो पस्यो । बाहिर सडकमा धेरैले पक्कै पनि आज नेकपा फुट्छ भन्ने अड्कल काटे । तर, महासचिव विष्णु पौडेलका कारण पूर्वनिर्धारित समयमा बोलाइएको सचिवालय बैठक समयमै बस्यो । मन्त्रिपरिषद् बैठकको समय सारियो । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुझाएको पत्रको जवाफ दिन प्रधानमन्त्री ओलीलाई मंसिर १३ गतेसम्मलाई समय दिइयो । प्रचण्ड र ओलीले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गर्न मंसिर १८ गते स्थायी कमिटी र मंसिर २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भयो । यदि, त्यस दिन महासचिव पौडेलले भूमिका नखेलेको भए कस्तो परिणाम आउँथ्यो, अनुमान मात्र गर्न सकिन्छ । किनभने, तोकिएको समयमा सचिवालय बैठक बालुवाटारमा नबसे पार्टी मुख्यालयमा बस्ने योजना थियो । यता, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकबाट एउटा निर्णय गर्ने, उता धुम्वाराहीमा सचिवालय बैठकले अर्को निर्णय गर्ने कुरा पक्कै पनि नेकपाका लागि प्रिय हुने थिएन । धन्न, त्यो दिन नेकपा फुट्नबाट पशुपतिनाथले जोगाए ।

अध्यक्षद्वयको प्रतिष्ठाको लडाइँले आखिर हार्ने भनेको सिंगो पार्टीले हो । यी दुईलाई भिडाएर आफ्नो दुनो सोझ्याउनेहरुको कमी नेकपामा छैन । यो कुरालाई अध्यक्षद्वयले मनन गरेर पार्टी एकता गर्दा जे जति सहमति भएका छन्, तिनको अक्षरशः पालना गर्नुपर्छ । पार्टी एकता ओलीकै जोडबलमा भएको र त्यो एकताले सिंगो कम्युनिष्ट आन्दोलनलाई शिखरमा पु¥याएको कुरा दुवै अध्यक्षले मनन् गर्नुपर्छ ।

यसबीच, कार्यकारी अध्यक्ष प्रचण्डले बुझाएको प्रतिवेदन फिर्ता लिन बालुवाटारको तर्फबाट दौडधुप जारी छ । किनभने, उक्त प्रतिवेदनमा प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचार गरेको आरोपसमेत समावेश भएको छ । यदि उक्त प्रतिवेदन फिर्ता भएन र त्यसको जवाफ ओलीले फर्काउने हो भने पार्टी फुट्ने अस्त्र अध्यक्षद्वयको प्रतिवेदन नै हुनेछ । कम्युनिष्ट पार्टी भनेको फलामे अनुशासन भएको पार्टी हो । त्यो पार्टी विधि, विधानसम्मत ढंगले चल्छ । नेकपा विधिसम्मत ढंगले नचलेकै कारण यस्तो अवस्था आएको हो । यसका लागि अध्यक्षद्वय जिम्मेवार छन् । चीनका राष्ट्रपति सी जिनपिङले पार्टी निर्णयका विरुद्ध कुनै काम गर्न पाउँदैनन् । उनले जे काम गर्नुपर्ने हो र जे निर्णय लिनुपर्ने हो, त्यो पार्टीको ‘हाइकमाण्ड’बाट अनुमति प्राप्त भएपछि मात्र निर्णय लिइन्छ । यसर्थ, नेकपाका अध्यक्षद्वयले प्रस्तुत गर्ने प्रतिवेदन सचिवालय हुँदै छलफलका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीमा पुग्छ । जहाँ अध्यक्षद्वयले आरोपको पुष्टि गर्नुपर्ने हुन्छ । यो स्थिति आउन नदिन प्रधानमन्त्री ओलीका तर्फबाट जुन भूमिका खेल्नुपर्ने हो, त्यो भूमिका ओली निकट नेता, कार्यकर्ता अथवा उनका सल्लाहकारले खेलेका छैनन् । सल्लाहकारहरु खुलारुपमा प्रचण्ड–माधव नेपालविरुद्ध विषवमन गरिरहेका छन् । कतिसम्म भने चितवनका कार्यकर्ता आफ्नै नेताको सभा बिथोल्दै हिँड्न थालेका छन् । यसबीच मिडियामा ओलीका सल्लाहकारहरु पदीय हैसियतविरुद्ध प्रचण्डविरुद्ध खनिएका छन् । प्रचण्ड पनि यही पार्टीको कार्यकारी अध्यक्ष हुन् भन्ने कुरा ती सल्लाहकारहरुले बोल्दा हेक्कासमेत राखेका छैनन् । सल्लाहकारहरुको अभिव्यक्ति सुन्दा लाग्छ, नेकपा फुटिसक्यो । त्यसको औपचारिक घोषणा हुन मात्र बाँकी छ ।

अध्यक्षद्वयको प्रतिष्ठाको लडाइँले आखिर हार्ने भनेको सिंगो पार्टीले हो । यी दुईलाई भिडाएर आफ्नो दुनो सोझ्याउनेहरुको कमी नेकपामा छैन । यो कुरालाई अध्यक्षद्वयले मनन गरेर पार्टी एकता गर्दा जे जति सहमति भएका छन्, तिनको अक्षरशः पालना गर्नुपर्छ । पार्टी एकता ओलीकै जोडबलमा भएको र त्यो एकताले सिंगो कम्युनिष्ट आन्दोलनलाई शिखरमा पु¥याएको कुरा दुवै अध्यक्षले मनन् गर्नुपर्छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई जनताले अनुमोदन नगरेको भए दुईतिहाइको मत यी पार्टीलाई जनताले दिने थिएनन् । प्रधानमन्त्री ओली आज जुन जगमा उभिएका छन्, त्यसको बल भनेकै एकता हो । त्यो एकतालाई जोगाउन नसक्दा कम्युनिष्ट इतिहासमा ओली र प्रचण्ड जति नालायक अरु हुने छैनन् । त्यसैले बालुवाटारभित्रै बसेर पार्टी फोड्नुपर्छ भन्नेहरुसँग ओली समयमै सचेत हुनु जरुरी छ । त्यसका लागि प्रचण्डमा धैर्यता र ओलीमा संयमताको आवश्यकता पर्छ ।

आशा गरौं, पार्टी एकता गरेर कम्युनिष्ट आन्दोलनलाई सगरमाथाको टाकुरामा पु¥याउने यी दुई महान् नेता लायक बन्छन् कि नालायक भन्ने कुरा हेर्न केही दिन पर्खनै पर्ला ।

प्रतिक्रिया दिनुहोस्