काठमाडौं । एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई पदमुक्त गराउन उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल खेमाका युवा नेताहरू सक्रिय भएका छन् । पौडेल–पोखरेलले ओलीको सम्मानजनक बर्हिगमन चाहे पनि ओलीले आफ्नो हठ छाड्न नमानेपछि युवा नेताहरूले दबाबस्वरुप पुर्नजागरण अभियान मार्फत ओलीलाई पदमुक्त गराउन सक्रिय भएका हुन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारी र नेता ईश्वर पोखरेल समूह निकट युवा विद्यार्थीहरूले भेला आयोजना गरेर ओलीलाई सहज रुपमा नेतृत्व छाड्न दबाब दिएका मात्रै छैनन्, उनीहरूले अहिले भैरहेको केन्द्रीय कमिटी विघटनको माग समेत गरेका छन् ।
एमाले अध्यक्ष ओलीलाई हटाउनुपर्ने एउटा प्रमुख कारण भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ओली नेतृत्वको सरकारले निर्वाह गरेको भूमिकालाई मानिएको छ । युवा पुस्ताको स्वतःस्फूर्त आन्दोलनलाई दमन गर्ने र त्यसलाई ‘अराजकता’ को बिल्ला भिराउने नेतृत्वको हठले नयाँ मतदातामा एमालेप्रति तीव्र घृणा पैदा गरेको र त्यसले गत निर्वाचनमा शर्मनाक पराजय व्यहोर्नुपरेको निष्कर्ष छ ।
पार्टीभित्रका युवा र बौद्धिक नेताहरूले नेतृत्वले समयको पदचाप बुझ्न नसकेको, डिजिटल युगका युवाहरूको मनोविज्ञान बुझ्नुको सट्टा दमनको सहारा लिएको प्रत्यक्ष असर मतपेटिकामा परेको बुझाइ छ । पार्टीभित्र चुलिएको यो अन्तद्वन्द्वमा अर्को शक्तिकेन्द्रको पनि प्रवेश भएको छ । ओलीलाई नेतृत्वबाट हटाएर पार्टी पुनर्गठन गर्ने अभियानमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘भित्री साथ’ छ । एमालेको आन्तरिक समीकरणमा भण्डारीको प्रभाव अझै निर्णायक छ र उनले अब पार्टीलाई नयाँ शिराबाट लैजानुपर्नेमा जोड दिएकी छन् ।
ओलीनिकट मानिने र ‘पर्ख र हेर’ को रणनीतिमा रहेका नेताहरू पनि यसपटक कित्ताकाटमा उत्रिएका छन् । नेताहरु ईश्वर पोखरेल र विष्णु पौडेल नेतृत्वको विकल्पबारे मौन रहे पनि आन्तरिक संवादमा सक्रिय रहेको बताइन्छ ।
यसैगरी नेताहरु गोकर्ण विष्ट र योगेश भट्टराई पनि पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने र नेतृत्व हस्तान्तरण हुनुपर्ने अडानमा प्रस्ट रहेका छन् । संसदीय इतिहासकै सबैभन्दा ‘लज्जास्पद’ हार व्यहोरेपछि एमालेभित्र नेतृत्व फेरबदल र विशेष महाधिवेशनको माग ‘भुसको आगो’झैँ फैलिँदै गएको छ ।
प्रत्यक्षतर्फ १६५ सिटमध्ये जम्मा ९ सिटमा खुम्चिनु र काठमाडौँका अधिकांश क्षेत्रमा जमानत जफत हुनुले तत्कालीन बालकोटको ‘अजेय’ विरासतमाथि गम्भीर प्रश्न खडा गरिदिएको मात्र होइन, पार्टी नै तहसनहस बनाइदिएको छ ।
यो अवस्थामा पुनर्जागरण भेला आयोजना गरेर ओलीलाई दबाब दिइरहेको सन्देशले देशभर पार्टीपंक्ति तंरगित बनिरहेको छ । भेलामा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल निकट चिनिएका युवा नेताहरू पनि पहिलो पटक सामेल भएका छन् ।
यसले एमालेभित्र तरंग सिर्जना गर्दै नयाँ शिराबाट ध्रुबीकरण शुरु भएको आँकलन गरिएको छ । भेलामा पार्टीका वर्तमान तथा पूर्व केन्द्रीय सदस्य, अखिल, युवा संघका नेताहरू सहभागी थिए । चुनावमा पार्टीको शर्मनाक पराजय र दिनप्रतिदिन घर्किदो लोकप्रियताको ग्राफको एकमात्र कारक नेतृत्वको कार्यशैली रहेको उनीहरूले बताएका छन् ।
उनीहरुले अध्यक्ष केपी ओलीसहित (पहिलो पुस्ता) नेतृत्वको अनिवार्य बिदाई, प्रदेश–जिल्ला कमिटीदेखि जनवर्गीय संगठनसम्म विघटन गरी तत्काल पुनर्गठन प्रक्रियामा जानुपर्ने उनीहरूको बटमलाइन छ ।
‘नेतृत्वको ग्रेसफूल एक्जिटको कुरा उठेको छ । पार्टीलाई पुनर्जागृत गर्न समय र जनअपेक्षाको बेग बुझेर कदम चाल्न ढिला गर्नु हुन्न । जति ढिला भयो त्यति क्षति हुने निश्चित छ । यो हाम्रो आवाज रोकिनेवाला छैन’, भेलामा केन्द्रीय सदस्य नरेश रोकायाले भनेका थिए । तत्काल पार्टी केन्द्रीय सचिवालय वा केन्द्रीय कमिटी बैठक राखी नेतृत्वले राजीनामा दिनुपर्ने, केन्द्रीय कमिटी विघटन गर्नुपर्ने र मौजुदा कमिटीभन्दा बाहिरबाट ल्याएर संक्रमणकालीन अवधिका लागि ५–७ सदस्यीय अन्तरिम समिति बनाएर पुनर्गठनको बाटोमा जानुपर्ने भेलाको अर्को माग थियो ।
काठमाडौंमा उपलब्ध अगुवा युवा र विद्यार्थी नेताहरु आमन्त्रित भेलाको नेतृत्व राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुका पुर्व अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य समिक बडाल, अनेरास्ववियुका पूर्व महासचिव तथा एमाले केन्द्रीय सदस्य नरेश रोकाय, अनेरास्ववियुका पूर्व अध्यक्ष डा सुजन कडरियालगायतले गरेका छन् ।
अध्यक्ष ओलीको पित्तथैलीको अपरेशनपछि भित्री इन्फेक्सनले उनी कम्तीमा एक महिना सक्रिय हुन नसक्ने निश्चित देखिएको छ । पार्टी पुनर्गठनमा ओलीको विकल्प खोजी भैरहँदा उनको स्वास्थ्यले सचिवालय बैठक र केन्द्रीय कमिटी बैठकको मिति तय हुन सकिरहेको छैन ।












