काठमाडौं । सरकारले ‘स्टार्टअप नेपाल’ पोर्टलमार्फत एकै दिनमै कम्पनी दर्ता, कर छुट, बिउ पुँजीलगायतका सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

अगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ग्रामीण अर्थतन्त्रको पुनर्जीवन तथा कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायका रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्द्धन गरिने बताएका छन् ।
उत्पादन वृद्धि, लागत न्यूनीकरण र खाद्यान्न आत्मनिर्भरताका लागि नीतिगत सुधार तथा प्याकेजमा आधारित उत्पादन प्रणालीमार्फत कृषिको यान्त्रीकरणलाई तीव्रता दिइने उनले बताए ।
उनले विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग र बजारसँग जोडिने तथा वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई कृषि उद्यमतर्फ आकर्षित गरिने बताए ।
यस्तै, बाली लगाउनुअघि नै कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी कार्यान्वयन गरिने पनि उनले बताएका छन् ।












