Logo
Logo

प्रभु बैंकको खराब समयः अशोक शेरचनको विवश बहिर्गमन, बैंक हत्याउने ‘षड्यन्त्र’


2.8k
Shares

काठमाडौं । नेपाली वित्तीय बजारमा कुनै समय एउटा ‘ब्रान्ड’ थियो— प्रभु बैंक । मर्जर र एक्विजिसनको आँधीहुरीबीच एउटा मजबुत खम्बा बनेर उभिएको यो बैंक आज भेन्टिलेटरमा पुगेको अवस्था छ । बैंकका सूचकहरूले बैंकमा खराब समय चलिरहेको स्पष्ट देखाउँछन् ।

कुनै बेलाको शक्तिशाली बैंक आज किन अचानक ‘भेन्टिलेटर’ मा पुग्ने अवस्थामा आयो ? बाहिरबाट हेर्दा कर्जा नउठेको वा मन्दीको असर देखिए पनि यो संकटको भित्री तहमा भने एउटा यस्तो ‘बैंकिङ माफिया’ को जालो लुकेको छ, जसले आफ्नो स्वार्थका लागि एउटा स्थापित संस्थाको जग नै हल्लाएर उक्त बैंक हत्याउने खेल खेलिरहेको छ ।

यो कथा केवल अंक र तथ्याङ्कको मात्र होइन, यो त शक्ति, पहुँच र एक नवधनाढ्य ‘शक्तिशाली बैंकर’ को कुटिल दाउपेचको नालीबेली हो, जसले प्रभु बैंकलाई धराशायी बनाएर आफ्नो बैंकमा ‘कौडीको भाउ’ मा गाभ्ने षडयन्त्र बुनिरहेका छन् ।

प्रभु बैंकलाई आजको यो उचाइसम्म ल्याउने मुख्य इन्जिनियर थिए, अशोक शेरचन । धराशायी भएका किस्ट, ग्राण्ड र सिभिल जस्ता बैंकहरूलाई एउटै डालोमा हुलेर प्रभुलाई एक शक्तिशाली ब्रान्ड बनाउन शेरचनले आफ्नो दशकौँको अनुभव खर्चेका थिए । उनले बैंकलाई जसोतसो माथि पु¥याए, बजारमा प्रभुको साख स्थापित गरे । तर, बैंक जति बलियो हुँदै गयो, स्वार्थ समूहको गिद्धे नजर उत्तिकै तीव्र बन्यो ।

पछिल्लो समय शेरचन एउटा यस्तो अदृश्य चक्रव्यूहमा परे, जहाँ उनले चाहेर पनि बैंकलाई बचाउन सकेनन् । एकातिर आफ्नै सञ्चालक समितिभित्रको दबाब र अर्कोतिर बाहिरबाट राज्यका निकाय प्रयोग गरेर गरिएको घेराबन्दीका अगाडि उनी लाचार बने । शेरचन काबिल हुँदाहुँदै पनि एक जना ‘नवधनाढ्य बैंकर’को राजनीतिक र प्रशासनिक पहुँचका अगाडि उनको केही लागेन । अन्ततः उनले एउटा अधुरो सपना र जर्जर अवस्थाको विरासत छाडेर अपमानजनक तरिकाले बाहिरिनुप¥यो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरणले भन्छ— प्रभु बैंकको मुटु अहिले निकै कमजोर छ । बैंकको निष्क्रिय कर्जा ५.०९ प्रतिशतबाट ह्वात्तै बढेर ८.८४ प्रतिशत पुगेको छ । यो कुनै सामान्य अंक होइन, यो त बैंक डुब्न लागेको गम्भीर सङ्केत हो । राष्ट्र बैंकको ५ प्रतिशतको सीमालाई प्रभुले निकै पछाडि छाडिदिएको छ ।

त्यति मात्र होइन, बैंकको वितरणयोग्य नाफा ४ अर्ब २८ करोड ८१ लाख रुपैयाँले ऋणात्मक छ । यसको सोझो अर्थ हो, सेयरधनीहरूले अबको केही वर्ष लाभांशको आशा नगरे हुन्छ । तर, प्रश्न उठ्छ— के यति ठूलो रकम त्यसै डुबेको हो ? स्रोतका अनुसार, ती नवधनाढ्य व्यवसायीले आफ्ना नजिकका व्यवसायीहरूलाई अर्बौँको ऋण प्रवाह गराएको र अहिले सो ऋण ‘जानाजानी’ नतिर्न दबाब दिइएको छ, ताकि बैंकको ब्यालेन्स सिट बिग्रियोस् र यसको मूल्य ओरालो लागोस् ।

प्रभु बैंकलाई ओरालो लगाउने खेलको मुख्य योजनाकारका रूपमा निजी क्षेत्रको एक प्रभावशाली संगठनको नेतृत्व तहमा रहेका र आफ्नै अर्को ठूलो बैंक चलाइरहेका एक ‘विवादास्पद बैंकर’ को नाम बैंकिङ वृत्तमा चर्चामा छ । ती बैंकरको प्रभु बैंकसँग एउटा गहिरो र स्वार्थी साइनो छ । उनले आफूले लिजमा लिएएको जग्गा धितो राखेर प्रभु बैंकबाट ४० करोड रुपैयाँ ऋण लिए । त्यसपछि उनले सो ऋण तिरिसकेका छैनन् ।

बैंकको वितरणयोग्य नाफा ४ अर्ब २८ करोड ८१ लाख रुपैयाँले ऋणात्मक छ । यसको सोझो अर्थ हो, सेयरधनीहरूले अबको केही वर्ष लाभांशको आशा नगरे हुन्छ । तर, प्रश्न उठ्छ— के यति ठूलो रकम त्यसै डुबेको हो ? स्रोतका अनुसार, ती नवधनाढ्य व्यवसायीले आफ्ना नजिकका व्यवसायीहरूलाई अर्बौँको ऋण प्रवाह गराएको र अहिले सो ऋण ‘जानाजानी’ नतिर्न दबाब दिइएको छ, ताकि बैंकको ब्यालेन्स सिट बिग्रियोस् र यसको मूल्य ओरालो लागोस् ।

अरूको स्वामित्वमा रहेको वा विवादित जग्गामा कसरी ४० करोड ऋण प्रवाह भयो ? यसले बैंकभित्रको आन्तरिक सुशासनलाई कसरी ती शक्तिशाली बैंकरले आफ्नो मुठ्ठीमा राखेका थिए भन्ने प्रष्ट पार्छ । बैंकभित्र तत्कालीन अध्यक्ष देवी भट्टचनजस्ता केहीले यो गलत भयो भनेर आवाज उठाउँदा उनीहरूलाई शक्तिको आडमा थिचियो । ती व्यवसायीले बैंकबाट ऋण त लिए, तर अहिले सो ऋण नतिरेर बैंकलाई थप संकटमा धकेल्ने र अन्ततः ‘मर्जर’ को नाममा आफ्नो बैंकमा मिसाएर आफ्ना सबै कर्तुतहरू ढाकछोप गर्ने उनको अन्तिम लक्ष्य रहेको बुझिन्छ ।

बैंकको साख गिराउन राज्यका सुरक्षा निकायलाई समेत हतियार बनाइयो । सामान्यतया बैंकको अनुसन्धान नेपाल राष्ट्र बैंकले गर्नुपर्नेमा, राष्ट्र बैंकलाई ‘बाइपास’ गरेर सिधै सिआईबीलाई बैंकमा छिराइयो । अफिस घेराउ गरियो र कर्मचारीहरूलाई त्रसित बनाइयो । यो षड्यन्त्रको पछाडि ती नवधनाढ्य बैंकरकै सेटिङ रहेको आशंका छ ।

उनको योजना प्रष्ट देखिएको थियो कि यो बैंकलाई यति धेरै बदनाम र कमजोर बनाइदिने कि लगानीकर्ता र निक्षेपकर्ताहरू भाग्न थालून् । जब बैंकको मूल्य ‘मार्जिन’ मा झर्छ, तब उनले आफ्नो बैंकमार्फत यसलाई निल्ने (मर्जर गर्ने) रणनीति तयार पारेका छन् । यो केवल व्यवसायिक प्रतिष्पर्धा मात्र होइन, यो त एउटा बैंकले अर्को बैंकलाई सिध्याउन गरिएको ‘वित्तीय जालसाजी’ जस्तै देखिएको छ ।

यस्तो रणमैदानका बीच नयाँ सिईओ सुमन शर्मा अहिले प्रभु बैंकलाई अगाडि बढाइरहेका छन् । उनीसामु अहिले एउटा यस्तो जलिरहेको घर छ, जसलाई निभाउनु र फेरि ठड्याउनु नै उनको सबैभन्दा ठूलो चुनौती हो । एकातिर उनले ८.८४ प्रतिशतको खराब कर्जा असुल गरेर बैंकलाई तन्दुरुस्त बनाउनु छ भने अर्कोतिर ती शक्तिशाली बैंकरको ‘मर्जरको जाल’ बाट बैंकको अस्तित्व जोगाउनु छ ।

पुँजीकोष कमजोर भएका कारण बैंकले नयाँ व्यापार गर्न सकिरहेको छैन । लगानीकर्ताहरू निराश छन् र कर्मचारीहरू त्रासमा छन् । शर्माका लागि यो केवल जागिर मात्र होइन, यो एउटा यस्तो परीक्षा हो जहाँ उनले ती शक्तिशाली माफिया र वित्तीय संकट दुवैसँग एकैसाथ लड्नुपर्नेछ ।

प्रभु बैंक अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँबाट एउटा बाटो पुनरुत्थानतर्फ जान्छ भने अर्को बाटो कसैको व्यक्तिगत स्वार्थको मर्जरतर्फ । अशोक शेरचनले पसिना बगाएर बनाएको यो संस्था आज किन अरूको स्वार्थको लागि बलि चढाउन खोजिँदैछ ? नियामक निकाय राष्ट्र बैंक किन मौन छ ? यी प्रश्नहरूको उत्तरले नै प्रभु बैंकको भविष्य तय गर्नेछ । यदि नयाँ नेतृत्वले यो चक्रव्यूह तोड्न सकेन भने, प्रभु बैंक केवल एउटा ठूलो माछाको आहार बन्ने निश्चित छ, जसले गर्दा भोलि आम निक्षेपकर्ताको विश्वास बैंकिङ प्रणालीबाटै डगमगाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्