
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)का नन ग्रेडेड विद्यार्थीको लागि पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ ।
दुई विषयसम्म नन ग्रेडेड भएका विद्यार्थी र प्राप्त ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ परीक्षार्थीको नतिजा ननग्रेड आएको छ ।
बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थी मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । बोर्डले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि सम्बन्धित विद्यालयलाई तयारी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
सोभन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने परीक्षा नियन्त्रक तुकराज अधिकारीले जानकारी दिए ।
सोमबार सार्वजनिक २०८२ को एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार यस वर्ष ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हाे। गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।














