Logo
Logo

सरकारले नीति तथा कार्यक्रममा १०० बुँदे वाचापत्रकै भावना समेट्न सकेन : शंकर पोखरेल


630
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नीति तथा कार्यक्रम, प्रधानमन्त्रीको आचरण र संसदीय मर्यादामाथि टिप्पणी गर्दै गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले दीर्घकालीन योजनालाई पहिले ‘हावादारी’ भन्दै आलोचना गर्नेहरू अहिले तिनै एजेन्डा नीति तथा कार्यक्रममार्फत दोहोर्याउन बाध्य भएको बताएका हुन् । उनले ‘पुरानाले गरेनन्, हामी गर्छौं’ भन्ने दलको नीति तथा कार्यक्रम सुन्दा विगतभन्दा फरक दृष्टिकोण वा नयाँ सोच नदेखिएको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले नीति तथा कार्यक्रमले सरकारकै १०० बुँदे वाचापत्रको भावना समेत समेट्न नसकेको उल्लेख गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘सुरुकै नीति तथा कार्यक्रमको अवस्था यस्तो छ भने बजेट आउँदासम्म के होला ?’

पोखरेलले सरकारको पहिलो नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने समारोहमा प्रधानमन्त्री बालेनको अनौपचारिक पोशाक र राष्ट्रपतिको सम्बोधन नसकिँदै संसदबाट बाहिरिएको घटनाप्रति पनि असन्तुष्टि जनाएका छन् ।

उनले उक्त घटनाले नयाँ भनिने शक्तिहरूको संसदीय आचरण र भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् । उनले जनताले ठूलो अपेक्षा र बलियो जनादेश दिएको कुरा रास्वपाका नेताहरूले बुझ्न नसके मुलुक पुनः द्वन्द्व र अस्थिरतामा फस्न सक्ने चेतावनी दिँदै महासचिव पोखरेलले नेताहरूलाई गम्भीर र सचेत बन्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्