काठमाडौं । प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी एमाले सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन अवस्थामा पुगेका सुकुम्बासीहरुको तत्काल पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बोगटीले सरकारले नै सुकुम्बासी बस्तीमा डोजर चलाएर उनीहरुको आश्रय खोसेको आरोप लगाउँदै त्यसलाई अमानवीय कार्यको संज्ञा दिए। उनले घर भत्काइएका परिवारहरुको उचित व्यवस्थापन गर्न सरकारलाई तत्काल पहल गर्न आग्रह गरे ।
सांसद बोगटीले मुलुकभर दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या अझै समाधान हुन नसकेको उल्लेख गर्दै सरकारले समस्या समाधान गर्नुको सट्टा गरिब जनतामाथि अन्याय गरिरहेको टिप्पणी गरे ।
उनले भने, “अहिले पनि दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ११ लाख २९ हजार ५१७ जनाको समस्या ज्यूँका त्यूँ छ । सरकारले समस्या समाधान गर्नुको सट्टा गरिबका घर भत्काउने काम गरेको छ, जुन अत्यन्त निन्दनीय छ । यस्ता गतिविधि तुरुन्त रोक्नुपर्छ र घरबारविहीन बनाइएकाहरुको उचित व्यवस्थापन गर्नुपर्छ ।”
सांसद बोगटीले बजारमा बढ्दो महँगीका कारण सर्वसाधारण जनजीवन थप कष्टकर बन्दै गएको भन्दै मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले गरिब तथा निम्न आय भएका नागरिक महँगीको सबैभन्दा ठूलो मारमा परेको उल्लेख गर्दै सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने बताए ।














