काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि गम्भीर प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले हालको सरकारका गतिविधि संसदीय गरिमा र लोकतान्त्रिक मूल्य-मान्यतामा चोट पुर्याउने खालका भएको आरोप लगाए ।
आङदेम्बेले संसदको मुख्य अधिकार मानिने कानून निर्माण प्रक्रियालाई कमजोर बनाउँदै सरकारले करिब डेढ सय कानून संशोधन तथा केही नयाँ कानून अध्यादेशमार्फत ल्याएको भन्दै आपत्ति जनाए ।
उनले भने, “अधिवेशन असमान्य परम्परासहित सुरु भएको छ भन्ने हाम्रो ठम्याइ हो । आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको अधिकार खोसी करिब डेढ सय कानून संशोधन र नयाँ कानूनहरू अध्यादेशमार्फत ल्याइएका छन्, जसले संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमा चोट पुर्याएको छ ।”
नेता आङदेम्बेले यस अवस्थाका कारण सरकारको संसदीय प्रणालीप्रतिको निष्ठामाथि आम जनमानसमा शंका उत्पन्न भएको दाबी गर्दै चालु अधिवेशन पनि अस्वाभाविक ढंगले सुरु गरिएको टिप्पणी गरे ।














