काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित हुने सहमतिपछि प्रतिनिधिसभा बैठक अघि बढेको छ ।

बुधबारको पहिलो बैठकमा प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरी दलहरूसँग छलफल गरेका थिए ।
छलफलका क्रममा प्रधानमन्त्रीले बहसको जवाफ दिन आउने सहमति भएपछि संसद् सञ्चालन गर्न विपक्षी तयार भएको एमाले सांसद ऐन महरले जानकारी दिए ।
उनको भनाइपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।तर बैठक पुनः अवरुद्ध भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान दोहोर्याए ।
उनले प्रधानमन्त्रीलाई सम्मानकै आधारमा नीति तथा कार्यक्रम टेबल गर्न दिइएको उल्लेख गर्दै छलफलका क्रममा पनि प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताएका छन् ।














