काठमाडौं । सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहको खोजी तीव्र भइरहेका बेला उनी भने सिंहदरबारभित्रै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रहेको पाइएको छ ।

हाल प्रतिनिधिसभा बैठक सिंहदरबार परिसरमै रहेको निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलबाट सञ्चालन भइरहेको छ। निर्माणाधीन नयाँ संसद् भवन र प्रधानमन्त्री कार्यालयबीचको दूरी करिब दुई सय मिटर मात्र छ।
बुधबार प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने तथा जवाफ दिने कार्यसूची तय गरिएको थियो। तर नजिकै रहेको बैठकमा उनी उपस्थित भएनन्। जबकि उनी बिहानै सिंहदरबार पुगेर मन्त्रिपरिषद् बैठकसमेत गरेका थिए।
मन्त्रिपरिषद् बैठक सकिएपछि अधिकांश मन्त्रीहरू संसद् बैठकमा सहभागी भए पनि प्रधानमन्त्री भने गएनन् । यस कारण प्रतिनिधिसभा बैठक दुई पटक स्थगित गर्नुपरेको थियो ।
प्रधानमन्त्री शाह अनुपस्थित भएपछि विपक्षी दलहरूले बैठक कक्षमै उनको खोजी गरेका थिए। उनीहरूले प्रधानमन्त्री जनताको प्रतिनिधिको आवाज सुन्न नआएको भन्दै विरोध जनाए।
विपक्षी दलहरूको अडानपछि नीति तथा कार्यक्रममाथिको छलफल र जवाफका लागि प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्नुपर्ने माग उठेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि दोस्रोपटक स्थगित गरेका छन् ।
यसअघि पनि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । विपक्षीको निरन्तर अडानपछि बैठक पुनः स्थगित भएको हो ।














