Logo
Logo

कोरोनाबाट नायब निरीक्षकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ मंसिर ।
जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षक (सइ)को कोभिड–१९ बाट बिहीबार मृत्यु भएको छ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ। स्वास्थ्यमा समस्या भएपछि उनी मंसिर २ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सईलाई पिसिआर परीक्षणका क्रममा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन बेलुका उनी भेरी अस्पतालमा भर्ना भएका थिए।

स्वास्थ्यमा सुधार नभएपछि उनको उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए। निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

 

दुई वर्षअगाडि सरुवा भएर रोल्पा गएका वैदिकले लामो समय प्रहरी चौकी जुँगारको इञ्चार्जका रुपमा जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्