Logo
Logo

टीयू मैदानमा नेपाली बलरको गर्जनले धराशायी बन्यो अमेरिका, नेपाललाई १९६ रनको लक्ष्य


0
Shares

काठमाडौं । नेपाली बलरहरू सामु निरीह बनेपछि अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालविरुद्ध १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

Nepal’s Kushal Bhurtel (R) and Aasif Sheikh run between the wickets during the 2026 ICC Men’s T20 Cricket World Cup group stage match between England and Nepal at the Wankhede Stadium in Mumbai on February 8, 2026. (Photo by Indranil MUKHERJEE / AFP)

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले घरेलु टोलीविरुद्ध ४३.३ ओभरमा सबै विकेट गुमाएर १९५ रनको योगफल खडा गरेको हो। अमेरिकाका निम्ति ओपनर स्मित पटेलले ८३ रनको अर्धशतकीय पारी खेले।

८९ बल खेलेका पटेलले आठ चौका र तीन छक्का प्रहार गरे। उनले दोस्रो विकेटका निम्ति शेहन जयसूर्यासँग १०० रनको शतकीय साझेदारी गरेका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शेहन जयसूर्याले ५० रन बनाउँदै टोलीका निम्ति दोस्रो अर्धशतक प्रहार गरे।

जयसूर्याले ५२ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। २२.४ ओभरमा उनी पभेलियन फर्किएपछि यी दुईबीचको शतकीय साझेदारी तोडिएको थियो। यस्तै, मिलिन्द कुमारले २८ रन बनाए भने अविजित रहेका हर्मित सिंहले १४ रन जोडे। यीबाहेक अमेरिकाका अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

ओपनर शयन जागिंर ६ रनमा आउट भए। गत बुधबार सम्पन्न स्कटल्यान्डविरुद्धको खेलमा शतकीय पारी खेलेका कप्तान साइतेजा मुकामालाले यसपटक चार रन मात्र बनाउन सके। शुभम रञ्जानेले दुई रन मात्र जोडे भने नोस्थुज केनिजगे र सञ्जय कृष्णमूर्थी समान एक/एक रन बनाएर पभेलियन फर्किए।

महोम्मद मोहसीन ‘डक’ (शून्य) आउट भए भने अविजित रहेका शौरभ नेत्रावल्करले कुनै रन जोड्न सकेनन्।

नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै चार विकेट लिए। ७.३ ओभर बलिङ गरेका ऐरीले मात्र २४ रन खर्चिए। उनको इकोनोमी ३.२० रह्यो। यस्तै सोमपाल कामीले दुई विकेट लिए भने सन्दीप लामिछाने र गुल्सन झाले एक/एक विकेट बाँडे।

नेपाल यस खेलमा शृङ्खलाको पहिलो जित निकाल्दै लिग–२ मा आफ्नो नवौँ जित दर्ता गर्ने लक्ष्यमा हुनेछ। घरेलु टोलीले हालसम्म प्रतियोगितामा २५ खेल खेल्दा आठ जित र १५ हार व्यहोरेको छ भने टोलीको दुई खेल रद्द भएको छ।

नेपालले गत मे १२ मा सम्पन्न शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस (DLS) प्रणालीका आधारमा दुई रनको हार व्यहोरेको थियो। यता, अमेरिका पनि शृङ्खलाको पहिलो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ। अमेरिकाले हालसम्म प्रतियोगितामा २५ खेल खेल्दा १८ जित र सात हार व्यहोरेको छ।

प्रतिक्रिया दिनुहोस्