
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्व । त्यहीँको एउटा विकट भूगोल– भूमे गाउँपालिका–४ मा रहेको काँडा स्वास्थ्य चौकी ।
त्यो बिहानको एउटा घटना आज पनि मेरो स्मृतिमा ताजै छ । मिति थियो- २०८३ साल वैशाख २८ गते ।
बिहानको करिब ६ बजेको हुँदो हो । पहाडी आकाशले अँध्यारोको घुम्टो पूरै उतारिसकेको थिएन । कुहिरोको ओढ्नेभित्र गाउँ बिस्तारै निद्राबाट बिउँझने तरखरमा थियो ।
एकाबिहानैको त्यो सुनसान र चिसो मौनतालाई चिर्दै स्वास्थ्य चौकीको फोन एक्कासि बज्यो । त्यो घण्टी सामान्य फोनको आवाज मात्र थिएन, त्यसले मनमा एउटा अज्ञात भय र छटपटीको कम्पन छोडेर गयो ।
फोन उठाउन नपाउँदै उताबाट आत्तिएको स्वर आयो- ‘डाक्टर्नी… कता हुनुहुन्छ ? हामी आउँदैछौँ…!’
हतारिँदै सोधेँ- के भयो ?
उताबाट काँपेको आवाज आयो– मेरी श्रीमतीलाई सुत्केरी व्यथाले धेरै च्यापेको छ… ।
फोन काटिनेबित्तिकै मेरो मन अशान्त भयो । तुरुन्तै प्रसूति कक्षतर्फ दौडिएँ । आवश्यक उपकरण, औषधि र सामग्री तयार पार्दै मनभित्र एउटा प्रश्न लगातार घुमिरह्यो- कतै अवस्था जटिल त छैन ?
करिब बिहान ७ बजे उनीहरू स्वास्थ्य चौकी आइपुगे । एक गर्भवती महिला, उनका श्रीमान् र चार वर्षीया सानी छोरी । तीनै जना पैदल हिँडेर आएका रहेछन् ।
उनीहरूको अनुहारमा केवल थकान मात्र थिएन, त्यहाँ डर थियो, असहायता थियो, र जीवन जोगाइदिनुपर्छ भन्ने मौन याचना ।
जाँच गर्दा अवस्था सहज देखिएन । पाठेघरको मुख ७ सेन्टिमिटर खुलिसकेको थियो । भ्रुणको मुटुको धड्कन सामान्य भएपनि आमाको रक्तचाप १६०/१०५ एमएमएचजी पुगेको थियो । त्यो केवल एउटा ‘रिपोर्ट’ मात्र थिएन, आमा र बच्चा दुवैको जीवनमाथि मडारिएको जोखिमको संकेत थियो ।
ती महिलालाई तुरुन्तै देब्रेपट्टि फर्काएर सुताइयो । नसाबाट सलाइन सुरु गरियो । मैले परिवारलाई जिल्ला अस्पताल जान आग्रह गरेँ । सम्झाएँ– यहाँ प्रसूति गराउँदा जोखिम हुन सक्छ । म पनि तपाईहरुसँगै जान्छु ।
तर, त्यो परिवार केवल शारीरिक पीडाले थाकेको थिएन, उनीहरू मानसिक रूपमा पनि गलिसकेका थिए । किनकि यसअघि उनीहरू पटक–पटक जिल्ला अस्पताल पुगिसकेका रहेछन् । हरेकपटक परीक्षणपछि “सबै सामान्य छ” भन्दै फर्काइएका कारण अस्पतालप्रतिको विश्वास चकनाचुर भइसकेको थियो ।
उनीहरू रुँदै भन्न थाले– ‘अब हामी फेरि जाँदैनौँ… जे हुन्छ, यहीँ हुन्छ । डाक्टर्नी, कृपया प्रयास गरिदिनुस् …. ।
त्यो क्षण मेरो जीवनकै सबैभन्दा कठिन क्षणहरूमध्ये एक थियो । एकातिर स्वास्थ्यकर्मीको जिम्मेवारी, अर्कोतिर एउटा परिवारको असहाय भरोसा । कहिलेकाहीँ निर्णय केवल चिकित्सा विज्ञानले होइन, मानवीय संवेदनाले पनि लिनुपर्दोरहेछ ।
धेरै सम्झाउँदा पनि उहाँहरू जान नमानेपछि आवश्यक मञ्जुरीनामा लिएर स्वास्थ्य चौकीमै प्रसूति गराउने निर्णय गरियो । ०००
ती महिनालको गर्भावस्था सुरुदेखि नै सहज थिएन । गर्भको २१ हप्तामै उच्च रक्तचाप देखिएपछि उनलाई पहिलोपटक जिल्ला अस्पताल प्रेषण गरिएको थियो । तर परीक्षणपछि “सबै सामान्य” भन्दै नियमित निगरानीका लागि पुनः स्वास्थ्य चौकी पठाइयो ।
त्यसपछि हामीले निरन्तर निगरानी गरिरहेका थियौँ । तर गर्भको ३६ हप्ता २ दिन पुगेपछि अवस्था फेरि जटिल बन्यो । रक्तचाप अत्यधिक बढ्न थाल्यो । टाउको असह्य दुख्ने, आँखा धमिलो देखिने समस्या सुरु भयो । दोस्रोपटक फेरि अस्पताल पठाइयो । त्यहाँ पनि परीक्षण सामान्य भन्दै फर्काइयो । तर समस्या रोकिएन ।
पुनः नियमित जाँचका क्रममा रक्तचाप नियन्त्रणबाहिर जान थालेपछि रुकुम पूर्व अस्पतालका नर्सिङ इन्चार्जसँग परामर्श गरी तेस्रोपटक जिल्ला अस्पताल प्रेषण गरियो । सम्भावित सुत्केरी मिति नजिकिएकाले आवश्यक परे प्रसूति गराउनुपर्ने सुझाव दिइएको थियो । चार दिन अस्पताल निगरानीमा बसेपछि फेरि “सबै सामान्य” भन्दै घर पठाइयो ।
तर त्यो बिहान अवस्था साँच्चै सामान्य थिएन । त्यो बिहान जीवन र मृत्यु एकअर्कासँग नजिक उभिएका थिए । ०००
बिहान करिब ८ः२० बजे पानीको थैली फुट्यो । जाँच गर्दा पाठेघरको मुख पूर्णरूपमा खुलिसकेको थियो । तर रक्तचाप अझै नियन्त्रणमा आएको थिएन ।
त्यसैबीच अर्को चुनौती देखियो । बच्चाको घाँटीमा दुई फन्को कडा नाल बेरिएको थियो । त्यसमाथि बच्चाले पेटमै दिसा गरिसकेको अवस्था थियो । जोखिम झन् भयावह बन्दै गइरहेको थियो ।
प्रसूति कक्षभित्रको प्रत्येक सेकेन्ड भारी थियो । समय घडीमा होइन, सासमा चलिरहेको महसुस भइरहेको थियो । मनभित्र एउटै प्रार्थना दोहोरिरहेथ्यो– ‘हे भगवान्, आमा र बच्चा दुवै सुरक्षित रहून्…।’
अन्ततः बिहान ८ः२८ बजे, त्यो तनाव चिरेर एउटा नानीको पहिलो रुवाइ गुञ्जियो । २ किलो ८०० ग्राम तौल भएकी ती स्वस्थ छोरीको जन्म केवल एउटा शिशुको आगमन थिएन, त्यो आशाको पुनर्जन्म थियो । त्यो विश्वासको विजय थियो । त्यो एउटा स्वास्थ्यकर्मीको काँधमा थुप्रिएको जिम्मेवारी सफल भएको क्षण थियो ।
केही समयपछि आमाको रक्तचाप पनि बिस्तारै नियन्त्रणमा आयो । आमा र शिशु दुवै सुरक्षित भएपछि परिवारको अनुहारमा देखिएको राहत र खुसी शब्दले बयान गर्न सकिँदैन ।
त्यो क्षण मैले केवल एउटा बच्चा जन्माएको थिइनँ-मैले एउटा परिवारको विश्वास जोगाएको थिएँ । ००
काँडा स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल पुग्न करिब ४०-४५ मिनेट लाग्छ । तर त्यो दूरी केवल समयको हिसाबले छोटो हो, पहुँचको हिसाबले होइन ।
यदि यति नजिकको स्थानबाट समेत जोखिमपूर्ण सुत्केरीलाई प्रेषण गर्न यति कठिन हुन्छ भने पुथा उत्तरगंगा गाउँपालिकाका पेल्मा, हुकाम, मैकोट वा सिस्ने गाउँपालिकाजस्ता विकट ठाउँका गर्भवती महिलाको पीडा कति भयावह होला– सहजै अनुमान गर्न सकिन्छ ।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा केवल उपचार होइन । त्यो धैर्यको परीक्षा हो । त्यो विश्वासको लडाइँ हो । त्यो अभावसँगको युद्ध हो । र कहिलेकाहीँ त्यो मृत्युको मुखबाट जीवन खोसेर ल्याउने संघर्ष पनि हो ।
कतिपय अनुभवले शरीर थकाउँछन् । तर केही अनुभवले आत्मालाई अझ बलियो बनाउँछन् । यो घटना मेरो जीवनको पहिलो अनुभव पक्कै थिएन । तर यसले मलाई फेरि सम्झायो- ‘स्वास्थ्यकर्मी हुनु केवल एउटा पेशा होइन, कसैको जीवनसँग गाँसिएको जिम्मेवारी हो ।’














