
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार मुलुकको समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सो कुरा बताएकी हुन् ।
उनले सरकारले सो विधेयक मुलुकको समस्यालाई यथार्थपरक ढंगले विश्लेषण गर्दै ती समस्याहरू समाधान हुने गरी नल्याएको जिकिर समेत गरिन् ।
‘हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ । हाम्रा सामाजिक, आर्थिक यथार्थहरू कस्ता छन ? त्यता ध्यान पु¥याऔं । आज राज्यको राजश्व दबाबमा छ । युवाहरू विदेश पलायन भइराखेको छन् । कृषि उत्पादन घटदो छ । प्राईभेट सेक्टर त्रसित छ । सार्वजनिक ऋणको भार बढिरहेका छन्,’ उनले भनिन् ।
प्रमुख सचेतक ओलीले यथार्थभन्दा बाहिर गएर सरकारले नागरिकलाई आशावादी बनाउनका लागि गरिएको प्रयासको कुनै अर्थ नहुने पनि बताइन् ।
‘पूँजीगत खर्च अत्यन्त कमजोर छ । स्थानीय तहमा सेवा प्रवाह असमान छ । यस्ता यथार्थबीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढदै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्शन गर्नु भन्दा नारामूलक आशावादी फेरी पनि प्रस्तुत गरेको होकि भन्ने मलाई लागि रहेको छ,’ उनले भनिन् ।














