Logo
Logo

प्रस्तावित प्रधानन्यायाधीश विरुद्धको संसदीय सुनुवाइ प्रक्रिया सुरु


126
Shares

काठमाडौं । प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको मङ्गलवारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीहरूका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाएको हो । बैठकमा समिति सदस्यहरूलाई सम्बोधन गर्दै समिति सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध प्राप्त उजुरीहरूको व्यवस्थापन र वितरणका सम्बन्धमा जानकारी दिए ।

प्राप्त उजुरीहरूमध्ये केही इमेलमार्फत र केही खामबन्दी अवस्थामा रहेका छन् । ‘गोप्य’ भनी वर्गीकरण गरिएका उजुरीहरूको गोपनीयता कायम राख्न उजुरीकर्ताको नाम हटाएर (कोडिङ गरेर) मात्र सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको छ । साथै, समितिले यी उजुरीहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै गोपनीयता कायम गरिदिन सांसद र सञ्चारकर्मीहरूलाई समेत आग्रह गरे । 

संसदीय सुनुवाइ समितिको कार्यविधि २०८३ को दफा १९ बमोजिम प्रस्तावित प्रधानन्यायाधीश डा। शर्माले समिति समक्ष आफ्नो कार्ययोजना पेश गरेका छन् ।  उक्त कार्ययोजनाको विवरण समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ । सदस्यहरूको मागअनुसार कार्ययोजनाको विद्युतीय प्रति समेत उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको छ । 

सुनुवाइ प्रक्रियालाई व्यवस्थित बनाउन समितिले आगामी कार्यदिशा समेत तय गरेको छ । जसअन्तर्गत उजुरीहरूका सम्बन्धमा छलफल गर्ने, उजुरीकर्तालाई समितिमा उपस्थित गराउने र प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी सुनुवाइ सम्पन्न गर्ने लगायतका विषयमा सम्भावित कार्ययोजना तयार पारिएको छ ।

सचिवालयद्वारा प्रस्तावित उक्त कार्ययोजनामाथि सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधीशको योग्यता, क्षमता र भावी योजनाका सम्बन्धमा विस्तृत छलफल गरी समितिले उनको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय लिनेछ । 

प्रतिक्रिया दिनुहोस्