Logo
Logo

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ सार्न माग


63
Shares

काठमाडौं । सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज कुमार शर्माको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन् ।

मङ्गलवार संसदीय सुनुवाइ समितिको बैठकमा नेकपाका नेता वर्षमान पुनले उजुरी र कार्ययोजना अध्ययन गर्न समय अपुग भएको भन्दै सुनुवाइ भोलि बिहान सार्नुपर्ने धारणा राखेका हुन् । उनले भने, “आज राम्रोसँग अध्ययन गरौँ, भोलि सुनुवाइ गरौँ । प्रक्रिया परफेक्ट देखियोस् ।”

बैठकमा शर्मामाथि परेका १६ उजुरी र ६३ पृष्ठ लामो कार्य योजना वितरण गरिएको थियो । नेकपा एमाले उपनेता पद्मा अर्यालले प्रक्रियामा अत्यधिक हतार गरिएको आरोप लगाउँदै पर्याप्त अध्ययन र उजुरीकर्तासँग छलफलबिना निर्णय गर्न नहुने बताइन् । उनले संवैधानिक परिषद्मा सिफारिस भएका अन्य उम्मेदवारहरूको विवरण, नोट अफ डिसेन्ट र छनोट आधार समितिले पाउनुपर्ने माग गरिन् ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले समितिलाई ‘रबर स्ट्याम्प’ बनाउन नहुने बताए । उनले छोटो समयमा ६३ पृष्ठ अध्ययन गर्न नसकिने र सांसदहरूलाई छलफलको मौका नदिइएको गुनासो गरे । “सुनुवाइ समिति हो भने सुन्नुपर्छ, होइन भने अनुमोदन समिति बनाउनुस्,” विष्टले भने ।

प्रतिक्रिया दिनुहोस्