Logo
Logo

बालेन सरकारको निषेधकारी कदम लोकतन्त्रकै लागि घातक


उदय शमशेर जबरा, सहमहामन्त्री, नेपाली कांग्रेस

378
Shares

नेपाली काँग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेर निर्वाचनमा होमिएपछि पार्टीमा आन्तरिक किचलो व्याप्त छ । १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले गगन थापाको नेतृत्व अस्वीकार गर्दै समानान्तर गतिविधि बढाएपछि पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह र विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबिच टकराब बढ्दै जाँदा पार्टी विभाजन उन्मुख भएको आकलन गरिएको छ । काँग्रेसको आन्तरिक विवाद, त्यसको समाधान र वर्तमान सरकारका कामकारबाहीका विषयमा केन्द्रित रहेर विशेष महाधिवेशनबाट निर्वाचित पार्टीका सहमहामन्त्री उदय शमशेर जबरासँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश

बालेन सरकारको गतिविधि र पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेर्नु भएको छ ?
अहिलेको सरकार ४८ प्रतिशत मत लिएर आएको छ । यो बलियो र बहुमतसहितको सरकार हो । उहाँहरूलाई हामीले शुभकामना दिन चाहन्छौँ । अब स्थिरता ल्याएर अर्थतन्त्रमा सुधार ल्याउन सकोस् भन्ने कामना छ ।

अर्थतन्त्र सुधारको सुरुवात विगतमा नेपाली कांग्रेसले गर्दै आएको हो । अर्थतन्त्र ‘रिफम’गर्ने विषयमा हाम्रो सहमति रहन्छ । अर्थमन्त्री डा. रामहरण महत र महेश आचार्यले कोरेको अर्थतन्त्रको बाटोमा रास्वपा अघि बढोस्। उहाँहरूमा विपक्षमा हुँदा अर्थतन्त्रको सर्जरी गर्नुपर्छ भन्नुहुन्थ्यो । अब गर्ने ठाउँमा जानुभएको छ ।

अर्थतन्त्रमा ‘रिफम’ ल्याउने विषयमा हाम्रो पूर्ण समर्थन रहन्छ । तर नीति तथा कार्यक्रममा नयाँपन केही छैन, पुरानै निरन्तरता छ । डिजिटलाइजेशन र प्रशासनिक सुधारका कुरा पुरानै हुन् । निजी क्षेत्रलाई प्रोत्साहित बनाउन उहाँको भूमिका हुनुपर्छ । अहिले नीति कार्यक्रममा झलक चाहिँ निजी क्षेत्रमुखी देखिएको छैन । पहिले सुन्ने अनि थुन्ने नीति विपरीत अहिले पहिले थुन्ने पछि सुन्ने नीति सरकारले ल्याउँदा निजी क्षेत्र त्रसित छ ।

बैंकको सिइओले ऋण दिएकै कारण पक्राउ गर्ने तरिका गलत छ । अन्य प्रतिष्ठित व्यवसायीलाई पनि थुन्ने, थर्काउने अनि सुन्ने कार्यले निजी क्षेत्रलाई हतोत्साहित बनाएको छ । यतिबेला निजी क्षेत्रलाई स्थिर सरकार मात्रै होइन, स्थायी नीति पनि चाहिएको हो । अर्थमन्त्रीले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

अहिलेको बलियो सरकारले राम्रो सुरुवात गर्नुपर्ने हो । तर, सरकारको कदम त्यतातर्फ उन्मुख छैन । उहाँहरूको बहुमतको बलमा अघि बढ्ने प्रवृत्तिले निजी क्षेत्रलाई विश्वासमा लिन कठिन छ ।

यहाँको पार्टी राजनीतितर्फ फर्कौँ, नेपाली काँग्रेसमा विशेष महाधिवेशनपछि पार्टी विभाजन उन्मुख भएको हो ?
विशेष महाधिवेशनबाट विस्थापित नेताहरूको व्यवहार अचम्म लाग्दो छ । अहिले कांग्रेस आन्तरिक किचलोमा रुमल्लिनुको साटो सरकारका गतिविधिको खबरदारी गर्नु जरुरी छ । अहिले यातायात विभागले नयाँ सवारी दर्ता रोकेको छ । यसतर्फ पार्टीका नेताहरू मौन छन् । बजेट अगाडि यस प्रकारको उत्ताउलोपनले सकारात्मक संकेत गरेको छैन । विपक्षी दलसँग बजेटका विषयमा छलफल गर्नुपथ्र्यो, त्यो देखिएको छैन ।

त्यसबारेमा पार्टीका नेताहरू एकमत हुनुपर्ने बेलामा आन्तरिक झैझगडामा उत्रिनु अशोभनीय होइन, अहिले काँग्रेसको झगडा भनेको त्यो हेरेर सामान्य हो । अहिले पार्टीमा असन्तुष्ट हुनुभएका नेताहरू ४८ सालदेखि पार्टी र सरकारमा नेतृत्व गरेको पीढी हो । एकाएक विस्थापित भएपछि उहाँहरूमा आक्रोश आउनु स्वाभाविक हो । तर म सबै नेता कार्यकर्तालाई भन्न चाहन्छु– अहिले पार्टीमा विवाद गर्नुभन्दा सरकारलाई खबरदारी गर्नेगरी एकताबद्ध भएर अघि बढ्नुपर्छ ।

सरकारको गतिविधिलाई के गर्ने ?
त्यो ‘इस्युबेस’मा आधारित हुन्छ । सकारात्मक कदमको स्वागत गर्ने, गलत कदमको विरोध गर्ने नै हो । जस्तो सुकुमबासीको विषयमा पनि कांग्रेसले आफ्नो धारणा व्यक्त गरेको छ । अमानवीय ढंगले सरकारले सुकुमबासीमाथि जे कदम चालको छ, त्यसको हामीले विरोध गरेका छौँ । सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै गर्दा प्रधानमन्त्री नै स्वयं उठेर हिँड्नुहुन्छ । एक पटक पनि संसद्मा बोल्नु भएको छैन ।

बालेनको मौनता पुराना दलप्रतिको चेतावनी र व्यङ्ग्य पनि हो भन्छन् नि ?
हामीलाई के चुनौती दिनुप¥यो । हामीलाई जनताले देखाइसक्यो । अहिले त उहाँहरूले जनतालाई देखाउने हो । अहिले अधिकांश रास्वपाका समर्थकहरूले तिमीहरूको पालोमा के ग¥र्यौं ? भन्दै प्रश्न गर्नुहुन्छ । उहाँहरूको यो तर्क हास्यास्पद छ । रास्वपाको सरकार हामीलाई सबक सिकाउन हो कि जनतालाई परिणाम दिन हो ?
जनताले पुरानै प्रवृत्ति दोहो¥याउन मत दिएको होइन, हामीले केही ग¥यौं कि गरेनौँ भनेर जनताले बुझिसकेका छन् । यो सरकारको प्राथमिकता के हो ? जनता हो कि हामीलाई सबक सिकाउन हो । हामीलाई होइन, जनतातिर हेर्न आग्रह गर्दछु ।

अहिलेको प्रधानमन्त्रीलाई जनताले अप्रत्यक्ष रूपमा निर्वाचित गरेको हो । उहाँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री होइन, उहाँलाई संसद्ले प्रधानमन्त्री चुनेको हो । जहाँबाट चुनिएको हो, त्यसप्रति उत्तरदायी हुने कि नहुने ।

यो परिस्थिति निम्त्याउने मुख्य जिम्मेवार तपाईँहरू नै हो नि ?
हाम्रा कमीकमजोरीबारे हामी प्रस्टै छौँ । तर केही नभएको भन्ने जुन भाष्य निर्माण गरियो, त्यो गलत हो । ४८ सालमा अर्थतन्त्रको साइज १३ अर्ब थियो अहिले १९ खर्ब भएको छ । खानेपानीको पहुँच ४० प्रतिशतबाट ९० प्रतिशत पुगेको छ । विद्युत् उत्पादन ३०० मेगावाटबाट तीन हजार मेगावाट पुगेर भारतमा निर्यात गर्न सफल भएका छौँ । प्रत्येक वडामा बाटो पुगेको छ । हवाई क्षेत्र हेर्नुस्, मिडियाको विकास पनि भएको छ । त्यसैले केही नभएको होइन, अझै राम्रो हुनुन्थ्यो त्यो चाहिँ नभएकै हो ।

अझै त्यसमा पनि तीन नेताहरूका म्युजिकल चियरले जनता वाक्क भएका हुन् । जनताले हाम्रा नेताहरूको व्यवहार र कार्यशैलीमा परिवर्तन खोजेका हुन् । एउटै नेता ४८ सालदेखि अहिलेसम्म आजीवन पदमा लिप्त छन् । कहिल्यै रिटायर्ड नहुने प्रवृत्तिले जनता आक्रान्त भएका हुन् । मुख्य कुरा जनताले नेताका प्रस्तुति नरुचाएका हुन् । हामी जनतामा जसरी जानुपथ्र्यो, त्यो सकेनौँ । अझै यो सोसल मिडिया प्रयोगमा पनि चुक्यौँ । नयाँ पार्टीहरूले त्यसको भरपुर उपयोग गरे हामीले त्यसो गर्न सकेनौँ ।

तपाईँहरू विशेष महाधिवेशनबाट आएर पनि निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन सक्नु भएन नि ?
हामीले भदौ २३ र २४ गते नै चुनाव हारिसकेका रहेछौँ । हामीसँग जनता धेरै असन्तुष्ट रहेछन् । पछि त्यो निर्वाचनमा प्रकट भयो । हामी जेनजी विद्रोहपछि निर्वाचन होउञ्जेल आन्तरिक किचलोमा रुमल्लियौँ । केन्द्रीय कमिटीको बैठक सय दिनमा पनि बस्न नसक्ने विडम्बनापूर्ण अवस्था आयो । पूरै अनावश्यक कुरामा अन्मिलियौ । त्यतिबेलै नेतृत्व परिवर्तन गर्न चाहेका थियौँ । तर कार्यवाहक सभापतिले त्यसलाई अवज्ञा गर्दै जानुभयो । त्यसपछि बाध्य भएर विशेष महाधिवेशनमा गएका हौँ । पार्टीकै विवादले चुनावमा पनि अन्तिम समयमा उम्मेदवारी चयन गरेका थियौँ । तैपनि रूपान्तरित कांग्रेस भनेर १०७ जना नयाँ अनुहारका उम्मेदवार बनाएका थियौँ । कार्यकर्ता परिचालन पनि गरेका हौँ । रास्वपाले चाहिँ सोसल मिडियामार्फत प्रत्येकको हातहातमा पुग्न सफल भयो । त्यही अनुसार हामीले सोसल मिडियालाई प्रयोग गर्न सकेनौँ । नोमिनेशनको दुई बजेसम्म टिकट वितरणमै थियौँ । आधा भन्दा बढीले त काठमाडौंबाटै उम्मेदवारी दिनुभएको थियो । त्यसकारण पनि अपेक्षाकृत मत परिणाम आएन ।

यहाँहरू विशेष महाधिवेशनबाट निर्वाचित भएर आउनु भयो तर १४ औँ महाधिवेशनबाट निर्वाचित पक्ष अझै स्विकार्न तयार छैन, यसले काँग्रेसको भविष्य अन्योलग्रस्त बनाएको छैन ?
अहिले जुन हाम्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा अझै पनि केही पदीय जिम्मेवारीहरू बाँकी छन् । त्यसमा हामीले समेट्ने प्रयत्न गरेका छौँ । हाम्रा नेताहरू अझै पुरानै सोच र चिन्तनमा हुनुहुन्छ । धेरै नेताले हामीसँग आएर चुनाव आयोग र अदालतले निर्णय गरेपछि सबै एकताबद्ध हुनुपर्छ भन्नुहुन्छ, तर कार्यवाहक सभापति लगायतका नेताहरूले अझै स्विकार्न तयार हुनुभएको छैन । अहिले हामीले केन्द्रीय सदस्यको मनोनयका लागि नाम मागिरहेका छौँ । तर उहाँले मान्नु भएको छैन । अब हामीले १५ औँ महाधिवेशन निष्पक्ष बनाउने गरी सबैलाई समेटेर लैजान खोजेका छौँ । आगामी महाधिवेशनमा नेपाली काँग्रेसको विधान अनुरूप जो सुकै पनि नेतृत्वमा आउन पाउँछ । तर अहिले नै विशेष महाधिवेशनबाट निर्वाचित कमिटी भङ्ग गर्ने कुरा किमार्थ स्वीकार्य छैन ।

१५ औँ महाधिवेशनका लागि गठन गरिने विभिन्न समितिहरूमा हामीले उहाँहरूलाई समेट्छौ । तर यो निर्वाचित कमिटीलाई अवैध भन्नेलाई विचारा भन्नु बाहेक अरू उपाय छैन ।

पार्टीकै पूर्णबहादुर खड्का पक्षलाई किन गगनको नेतृत्व स्विकार्न असहज भएको होला ?
उहाँहरूलाई पचाउन गाह्रो भएको हो । हामीभन्दा उमेरमा पाका भएकाले भर्खरकै नयाँ पुस्ता नेतृत्वमा आएपछि उहाँहरूलाई अपाच्य भएको छ । यो कुनै व्यक्ति विशेषको पार्टी होइन, यो सबै नेता कार्यकर्ताको पार्टी हो । अब १५ औँ महाधिवेशनमा गएर फेरि नेतृत्वमा आए हुन्छ, त्यसका लागि प्रशस्तै अवसर छ । तर यसरी नेता कार्यकर्ताको मनोभावना अनुरूप निर्वाचित कमिटी भङ्ग गर्ने माग भने अस्वीकार्य छ ।

यहाँहरूले अपमानजनक तवरले बहिर्गर्मित गरेको परिणाम त हैन ?
हामीले उहाँहरूलाई अपमानजनक तवरले हटाएको होइन, पुरानै नेतृत्वबाट निर्वाचनमा गएको भए अझै लज्जास्पद मत परिणाम आउने थियो । जनता रुष्ट भएका उनै पुरानै नेताको नेतृत्वमा निर्वाचनमा जान सकिने अवस्था कुनै हालतमा थिएन ।

१५ औँ महाधिवेशन चुनावपछि गर्नेमा हामी सहमत थिएनौँ । चुनाव अघि नेतृत्व परिवर्तन नगरे हामीलाई गाह्रो पर्छ भनेकै हो । विशेष महाधिवेशन पनि होइन, तर नेतृत्व परिवर्तन नगरे भोट आउँदैन भनेर पार्टी नेतृत्वसँग प्रस्टसँग राखेका थियौँ । विशेष महाधिवेशनले एउटा माहोल त सिर्जना गरेकै हो । यदि विशेष महाधिवेशन नगरेको भए काँग्रेसको प्रत्यक्षमा ५–७ सिट हुन्थ्यो, दुई अंकको जित पनि हात पार्न सक्ने थिएनौँ भने समानुपातिकमा पनि ह्वात्तै मत घट्थ्यो । मेरै निर्वाचन क्षेत्रमा पनि सबै पार्टीका उम्मेदवारको मत जोड्दा रास्वपाको भन्दा कम मत हुन आउँछ । त्यति मात्रै होइन, विशेष महाधिवेशनबाट नयाँ नेतृत्व नआएको भए धेरै नेता कार्यकर्ता रास्वपामा जाने सम्भावना थियो , विशेष महाधिवेशनको मुख्य विशेषता भनेकै कम्तीमा नेता कार्यकर्ता जोगाउन सफल भयौँ, यसलाई पनि ठूलो उपलब्धि मान्नुपर्छ । यदि नयाँ नेतृत्व नआएको भए अधिकांश स्थानमा कार्यकर्ता गुमाएर झनै कमजोर अवस्था हुनेवाला थियो ।

तर, पार्टीकै शीर्ष तहका नेताहरूलाई समेट्न सक्नुभएन ?
हामीले के गरेर समेट्ने हो ? विशेष महाधिवेशन अस्वीकार गर्ने, अनि अलगै तवरले जाने त्यो कसरी स्वीकार्य हुन्छ । कि उहाँहरूले हामी पुरानाले जे गरे पनि हुन्छ भनेर भन्नुप¥यो । ४८ सालदेखि हालीमुहाली गरेकाले त्यही पुरानै सोच परिवर्तन हुन सकेको छैन । आज मुलुकमा नयाँ पुस्ता आइसक्यो, तर काँग्रेसका नेताहरूमा भने उही पुरानै दम्भ कायम छ । यसले कतै पु¥याउँदैन ।

अब विशेष महाधिवेशनको नेतृत्व अस्वीकार गर्ने समूहलाई के गर्नुहुन्छ ? कारबाही गरेर अघि बढ्नुहुन्छ ?
हामीले मिलाउँछौँ, तर मिल्न पनि तयार हुनुप¥यो । कारबाही किन गर्ने ? पार्टीको विधि प्रक्रियामा आउन आग्रह गर्छौँ । गाडी अगाडि बढिसक्यो त्यसमा हामीले सम्मानपूर्वक सँगै यात्रा गरौँ भनकै छौँ । तर उहाँहरूले परम्परागत सोच अनुसार आफ्नै हालीमुहाली गर्न खोज्नु भएको छ, त्यो त सम्भव छैन । एउटा लिमिटसम्म स्विकार्न सकिन्छ । विधान अनुरूप अघि बढ्ने हो । उहाँहरूलाई बोकेर लैजान तयार छौँ, तर अब टाउकोमा चढाएर त हिँड्न सकिँदैन नि ।

अब वर्तमान सरकारको कुरा गरौँ, सरकारको पछिल्ला कदमलाई कसरी हेर्नुभएको छ ?
सरकार र प्रधानमन्त्री जहाँबाट निर्वाचित भएको हो, त्यसप्रति उत्तरदायी हुनभएको छैन । दुई तिहाइको सरकार अहिलेको मात्रै हैन, यसअघि पनि दुई तिहाइको दम्भले अघि बढ्न खोज्दा के हविगत भयो ?

पुरानाले केही गरेनन् भनेर नयाँ आएको हो । हामीले गरेको मन नपराएर जनताले उहाँहरूलाई विश्वास गर्नुभयो । अब हामीले पनि धेरै टिकाटिपपणी गर्न जरुरी छैन । उहाँहरूको पनि हाम्रै नेता ओली–देउवाको जस्तै कार्यशैली भयो भने के फरक भयो र ?
अब जनताको रोजाइ नै त्यही भएकाले उहाँहरूमा जोस जाँगर अहिले अल्लि बढी पनि होला । तर समयक्रममा रियलाइज गर्नुहुनेछ । हामी सरकारका सकारात्मक काममा समर्थन गर्छौँ । तर एकलौटी ढंगले अघि बढ्ने निषेधकारी कदम जारी राखे विरोध पनि गर्छौँ । तर, पछिल्ला सरकारका गतिविधिले सही दिशा समात्न नसक्दा सरकारमाथि प्रश्न उठेको छ ।

बालेन सरकारको पछिल्ला क्रियाकलापले सरकार कता जान खोजेको होला ?
बालेन सरकार कता जान लाग्यो, त्यो त थाहा भएन । तर बाटो राम्रो लिएको छैन । विपक्षको कुरा सुन्दै त्यसलाई समेट्नुपर्ने हो । तर पूरै बेवास्ता गरिएको छ । प्रधानमन्त्रीले आफू निर्वाचित संसद्लाई नै अवज्ञा गर्ने कार्यले राम्रो संकेत गर्दैन ।

अब अन्तिम प्रश्न, यहाँ पूर्व अर्थराज्यमन्त्री पनि भएकाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सरकारले केमा ध्यान दिनुपर्ला ?
निजी क्षेत्रलाई प्रोत्साहित गर्ने खालको बजेट ल्याउनुपर्छ । स्वयं अहिलेका अर्थमन्त्रीले यसअघि विपक्षमा हुँदा बजेट आउँदा जहिले पनि सामान्य टालटुल मात्रै आयो, पूरै अप्रेशन गर्नुपर्छ भन्नुहुन्थ्यो । यसपटक आफैं अर्थमन्त्री बन्नु भएको छ । हेरौँ कस्तो ल्याउनुहुन्छ । हामीसँग छलफल सरसल्लाह केही पनि गरिएको छैन । जनताको मनोभावना र देशको आवश्यकता अनुसारको बजेट ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्