काठमाडौं । नेकपा एमालेका नेताहरुले अर्ली महाधिवेशनको माग गर्न थालेपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुलाई ‘मिसन पार्टी जागरणमा’ नामको कार्यविभाजन दिएर जिल्ला र गाउँपालिकामा खटाएका छन् । सचिवालय बैठकमा अध्यक्ष ओली अल्पमतमा परेपछि उनले आफ्नो पदीय हैसियत जोगाउन र फेरि पनि आफू रहेको देखाउनका लागि सबै केन्द्रीय सदस्यहरुलाई परीक्षाका लागि काम दिएर केन्द्रदेखि स्थानीय तहसम्म खटाएका छन् ।

जेनजी विद्रोहपछि पार्टीभित्र र बाहिर ओलीको औचित्य सकिएका बेला शंकर पोखरेल, विष्णु पौडेलको साथ लिएर महाधिवेशनमा तेस्रो कार्यकालका लागि अध्यक्ष भए । तर निर्वाचनले एमालेको अध्यक्ष र एमालेको नीति दुवै अस्वीकार गर्दा पनि ओलीले पार्टी पुनर्संरचनामा तदारुकता देखाएनन् र पौडेल र पोखरेलले सम्मान पार्टीको नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेपछि पुर्नगठनको औचित्यबारे अध्ययन गर्न कार्यदल गठन गरेर झारा टारे ।
तर रामबहादुर थापा बादलको संयोजकत्वमा बनेको निर्वाचन समीक्षा र पार्टी पुर्नगठनको औचित्य र विषयलाई समेत ओझेलमा पार्ने नेताहरुलाई कार्यविभाजन गर्दै विरोधीलाई पछि धकेल्ने आइडिया रचे । यद्यपि, यो कार्यविभाजनले ओलीलाई नै अप्ठेरो पारिरहेको छ । नेताहरु स्थानीय तहसम्म पुग्दा ओली नेतृत्वको औचित्यबारे खुलेर छलफल हुने मौका भएकाले थप अप्ठेरो पार्ने निश्चित छ ।
आउँदो असारको दोस्रो सातादेखि बस्ने केन्द्रीय कमिटीको बैठकमा आफ्नो पक्षको बहुमत दावी प्रस्तुत गर्ने ओलीको दाउ रहेको छ । केही भएन भने डेढ वर्षमा विशेष महाधिवेशन गराएर पुनः नेतृत्वमा आउने ओलीको अर्को खेल रहेको छ । जसको कारण विशेष महाधिवेशन गराउँदा पुरानै प्रतिनिधि आउने भएकाले ओलीलाई सहज हुने बुझाई रहेको छ । तर यी सबै विषयमा ओली सहजै तयार हुने छैनन । विशेष वा अर्ली महाधिवेशन गर्न ओली सहजै तयार देखिदैनन । पार्टीमा पेलेर जाने मनस्थिति बनाएका ओलीले ‘अर्ली महाधिवेशन’ सुन्न चाहेका छैनन् ।
अर्ली महाधिवेशन गर्दा नयाँ प्रतिनिधि आउने भएकाले ओलीले त्यो कुरासुन्न नचाहेका हुन् । विद्या भण्डारीपक्षका नेताहरुले भने केन्द्रीय कमिटीको बैठकबाट अर्ली महाधिवेशनको घोषणा गर्न चाहेका छन् । त्यो कुरा बुझेका ओलीले कार्यविभाजन गरेर विवाद मत्थर पार्न र संकट टार्न खोजेका छन् । तर कार्य विभाजनलाई लिएर संस्थापन इतर नेताहरू असन्तुष्ट भएका छन् । गत जेठ ४ देखि १० गतेसम्म चार दिन चलेको सचिवालय बैठकले १९ सचिवालय र २९९ सदस्यीय केन्द्रीय कमिटीको कार्यविभाजन गरेपछि यो विवाद बढेको छ ।
अध्यक्ष ओलीले एक खालको कार्य विभाजन गरेर बैठकमा प्रस्तुत गरेका थिए । सचिवालय सदस्यहरूले फरक मत नसमेटिएको भन्दै असन्तोष प्रकट गरेपछि सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई अध्यक्ष ओलीसँग थप परामर्श गरी अन्तिम रूप दिने जिम्मा दिए पनि गत महाधिवेशनमा फरक कित्तामा उभिएर उम्मेदवारी दिनेहरूलाई ‘पजनी’ गरिएको थियो ।
अहिलेको कार्यविभाजनलाई कर्ण थापा लगायतका नेताहरुले ‘पजनी’ गरिएको भन्दै असन्तुष्टि जनाइसकेका छन् । ‘चुनावमा यत्रो धक्का खाँदा पनि पार्टी नेतृत्वले चेतेको देखिएन, मिसन स्थानीय तह चुनाव भनेको छ । तर फरक मत राख्नेलाई योग्यता र क्षमता अनुसारको जिम्मेवारीबाट टाढा राखिएको छ’, उनले भने, ‘विगतमा पार्टीभित्र कत्रो असहमति–अन्तरविरोध हुँदा पनि तत्कालीन नेतृत्व माधवकुमार नेपाल, झलनाथ खनालले फरक मत राख्ने, फरक विचार बोकेर हिँड्नेहरूसँग पनि परामर्श गरेका कैयौं उदाहरण छन् । नेतृत्वले आफ्नो ढंगले निर्णय गथ्र्यो होला, तर यो किसिमको पजनी गरिएको थाहा छैन ।’
सुदूरपश्चिममा सिनियर नेताहरू हुँदाहुँदै दामोदर भण्डारीलाई इन्चार्ज बनाइएको भन्दै असन्तुष्टि बढेको छ । भण्डारी ओली प्रधानमन्त्री हुँदा उद्योगमन्त्री थिए । उनी ओली समूहबाट पटकपटक अवसर पाउने नेता मध्ये एक हुन् । सुदूरपश्चिममा कर्ण थापा वरिष्ठमध्ये माथि नै छन् । विधान महाधिवेशन अगाडिदेखि नै नेतृत्वविरूद्ध फरक मत राखेको भनेर उनलाई उद्योग वाणिज्य तथा आपूर्ति विभागमा थन्क्याइएको छ ।
मधेस प्रदेशमा रघुवीर महासेठले इन्चार्ज जाने मन गर्दा गर्दै लीलानाथ श्रेष्ठलाई इन्चार्ज बनाइएपछि त्यहाँ पनि अन्तरविरोध उत्पन्न भयो जबकि महासेठ उपमहासचिव पनि हुन । लुम्बिनी प्रदेशका सबै जिल्लामा फागुन २१ गतेअघि कार्य विभाजन गर्दा जिम्मेवारी पाएकाले नै इन्चार्ज पाउँदा ठाकुर गैरलाई विभागमा थन्क्याइएको छ । पछिल्लो कार्य विभाजन अनुसार उनले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको जिम्मेवारी पाएका छन् ।
गोकुल बाँस्कोटाले इन्चार्जकै भूमिका चाहिरहेका थिए । तर बागमती प्रदेश इन्चार्जको जिम्मा महेश बस्नेतले पाएका छन् । अर्का सचिव राजन भट्टराईले राजधानी प्रदेश इन्चार्जको जिम्मा पाएका छन् । पार्टी निर्माणमा खटिने चाहना व्यक्त गर्दा गर्दै बास्कोटालाई पनि विभागमै थन्क्याइएको छ । बाँस्कोटालाई गत निर्वाचनमा टिकट पनि दिएको थिएन। उनलाई अहिले विज्ञान तथा प्रविधि विभागको प्रमुख बनाएर थन्क्याइएको छ ।
बाँस्कोटा मात्र होइन, ११औं महाधिवेशनमा संस्थापनविरूद्ध चुनाव लड्ने अधिकांशले इन्चार्जको जिम्मेवारीबाट बन्चित गरिएको छ । पार्टीभित्र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख बनाएकोमा ठूलो असन्तुष्टि रहेको छ ।जनसंगठनमा रहँदा संगठनलाई विवादित र विभाजित बनाएको आरोप उनीमाथि कायम रहेको बेला संगठन विभाग प्रमुख दिएर पुरस्कृत गरिएको भन्दै आलोचना भएको छ ।
यसैबीच पार्टी परित्याग गरिसकेका उमाशंकर अरगरियालाई मिसन पार्टी जागरणअन्तर्गत धनुषा खटाइएको भन्दै अहिले आलोचना भइरहेको छ । सचिवालय बैठक चल्दै गर्दा उनले पार्टी परित्याग गरेका थिए । उनी तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका थिए । एमालेले विगतमा भएको सहमतिको पालना नगरेको भन्दै उनले पार्टी छाडेका थिए। तर कार्य विभाजनमा उनको पनि जिम्मेवारी बाँडफाँट छ । उनलाई धनुषाका दुई नरपालिका; सहिदपुर र कमलामा मिसन पार्टी जागरणअन्तर्गत काम दिइएको छ ।














