काठमाडौं । बाराका एसपी नरेन्द्र कुँवरलाई इलाका प्रहरी कार्यालयबाट महिनाको ५० हजारदेखि २ लाखसम्म मासिक लाइन सलामी लिएको आरोप लागेको छ । बारा जिल्लाको जितपुर क्षेत्रमा कार्यरत इलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक (सई) उमेश उप्रेतीसँग दुई लाख र सबैभन्दा कम आम्दानी हुने अमलेखगन्ज इलाका प्रहरी कार्यालयबाट ५० हजार लाइन सलामी बुझेको आरोप लागेको छ ।

बारामा यसरी सलामी बुझाउने ६ वटा चौकीहरु रहेका छन् । एसपीलाई लाइन सलामी बुझाउन परेको भन्दै चौकी इन्चार्जहरुले स्थानीय व्यापारीलाई त्रासमा पार्दै अवैध रकम असुली गर्न थालेको भन्दै बाराका एसपीमाथि कारवाही गर्नुपर्ने माग गरिएको छ ।
स्थानीय व्यापारी तथा व्यवसायीहरूका अनुसार सई उप्रेतीले विभिन्न क्षेत्रका व्यवसायीहरूलाई दबाबमा राख्दै मासिक रूपमा ठूलो रकम असुली गर्दै आएको दाबी गरिएको छ । उनले एसपी कुँवरलाई मात्र होइन मधेश प्रदेशका डिआइजी गोविन्द थपिलया लाई समेत बुझाउन गरेको स्रोतको दावी छ ।
ईलाका प्रहरी कार्यालय जितपुरका बरिस्ठ सई उप्रेतीले प्रहरी सहायक हवल्दार नवराज लम्साललाई घुमुवा परिचालन गरि वीरगन्जको ट्रान्सपोर्ट देखि लालका पुल सम्म एसपी देखि डिआइजी सम्मको नाऊमा रकम असुलेर सलामी चढाउदै आएको स्रोतले जनाएकोे छ ।
डिआइजी र एसपीले नै लाइन सलामी बुझेको भन्दै अहिले जितपुर बजारदेखि लिएर समग्र बारा–पर्सा औद्योगिक तथा व्यापारिक क्षेत्रसम्म यसको व्यापक चर्चा भैरहेको छ । व्यापारीहरूले यसलाई ‘व्यापारमै प्रत्यक्ष हस्तक्षेप र भयको वातावरण’ भन्दै तत्काल डिआइजी, एसपी र सईमाथि निष्पक्ष छानबिनको माग गरेका छन् ।
स्थानीय स्रोतहरूका अनुसार ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, चकलेट–बटर तथा चिनी कारोबारीदेखि लिएर गोदाम सञ्चालकसम्मलाई लक्षित गरी नियमित रूपमा रकम उठाउने गरिएको आरोप छ । यतिबेला मासिक रकम नदिए ढुवानी रोकिन्छ, सामान चेकजाँचका नाममा हैरानी दिइन्छ ।
डरकै कारण धेरैले बोल्न सकिरहेका छैनन ।व्यापारीहरूको भनाइ अनुसार, रकम नबुझाउने व्यवसायीहरूलाई विभिन्न बहानामा प्रहरी प्रशासनिक दबाब, सवारी चेकिङ, मालसामान रोक्ने जस्ता कार्यमार्फत प्रताडित गरिने थालिएको छ ।
सूत्रका अनुसार भारतको सीमासँग जोडिएका पर्सा र बारा क्षेत्रका छपकैया, अलौ, अमरपाटी, प्रसौनी भाठा, सबैथवा, भिस्वा, जनकिटोला लगायतका नाकाहरू हुँदै अवैध वा अनौपचारिक रूपमा सामान भित्रिने गरेको छ ।त्यस्तै, ती सामानहरू बारा जिल्लाका विभिन्न मार्ग प्रयोग गर्दै जितपुर क्षेत्र हुँदै अन्य जिल्लातर्फ ढुवानी हुने गरेको व्यापारीहरूको दाबी छ ।
उनीहरुका अनुसार एक दैनिक अखबारमा काम गर्ने सञ्चारकर्मीले समेत प्रहरीको साथ लागेर व्यापारीलाई धम्क्याउन थालेको गुनासो पुगेको छ । केही समयअघि एक वर्ष निलम्बित भएर अबदेखि त्यस्तो नगर्ने शर्तमा फुकुवा भएका ती सञ्चारकर्मीले लाइन चलाउन तस्करसँग महिनाको ३ लाखमा ठेक्का लिने गरेको समेत स्रोतको दाबी छ ।
यस्तो अवस्थामा कानुनी कारबाही र नियन्त्रण गर्नु पर्ने जिम्मेवारी रहेको प्रहरी संरचनाभित्रैबाट ‘मासिक नजराना’ लिएर ती गतिविधिलाई मौन समर्थन गरिएको आरोप समेत व्यापारीहरूले लगाएका छन् । मधेश प्रदेशका बारा, पर्सा जिल्लाको व्यापारीहरुको आरोपअनुसार केवल व्यापारिक सामान मात्र होइन, वीरगञ्ज र कलैयाबाट सञ्चालन हुने रात्री बस तथा ट्रान्सपोर्ट सेवाबाट पनि नियमित रूपमा रकम असुली हुने गरिएको दाबी गरिएको छ ।
ट्रान्सपोर्ट व्यवसायीहरूको भनाइ अनुसार प्रत्येक सवारी साधन र कम्पनीबाट मासिक १० हजारदेखि २० हजार रुपैयाँसम्म रकम उठाइने गरिएको छ । यसले व्यवसायको लागत बढाउनुका साथै साना व्यवसायीहरूलाई थप मारमा पारेको उनीहरूको गुनासो छ । बरिस्ठ सई उप्रेतीको घुमुवा लम्साललाई चौकीमा समेत व्यापारीलाई बोलाई भेट्ने गरेको थिए । घुमुवा लम्साल केही दिन पहिला ईलाका प्रहरी कार्यालय सिम्रौन्गंढमा घुमुवा हुँदा व्यापारी संग आर्थिक कारोबार गरेको आरोपमा जिल्ला तानिएका थिए ।लम्साल फेरी डिआइजीको थपलियाको निगाहमा जितपुरको घुमुवा भई पुगेको स्रोतको दावी छ ।














