Logo
Logo

लालपुर्जा माग्दै राजविराज नगरपालिकामा तालाबन्दी


0
Shares

सप्तरी । जग्गाधनी पुर्जा (लालपुर्जा) माग्दै राजविराज नगरपालिकामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । सोमबार जग्गाधनी पुर्जा माग्दै लामो समयदेखि आन्दोलनरत संघर्ष समितिको अगुवाइमा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।

पटक–पटक आश्वासन दिएपनि हालसम्म लालपुर्जा नदिइएको भन्दै स्थानीय अव्यवस्थित बसोबासी र सुकुमवासी आन्दोलित छन् । उनीहरूले आफू नगरपालिकाको स्थापनाकाल अघिदेखि नै त्यहाँ बसिरहेको दाबी गर्दैआएका छन् । हकभोगका आधारमा लालपुर्जा उपलब्ध गराउनुपर्ने आन्दोलनरत पक्षको एकसूत्रीय माग छ ।

निरन्तर शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नभएपछि नगरपालिकामा तालाबन्दी गर्न बाध्य भएको संघर्ष समितिका संयोजक खेलानन्द दासले बताए । लालपुर्जा उपलब्ध हुने सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने उनको भनाइ छ ।

संघर्ष समितिले ११ दिनसम्म धर्नालगायतका विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएका थिए । विटोरी जग्गाको राजस्व राजविराज नगरपालिकामा बुझाउँदा समेत लालपुर्जा वितरणमा बेवास्ता गरेको भन्दै आक्रोशित उनीहरूले अब नापी कार्यालयमा समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

आन्दोलनरत् पक्ष प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गर्न देशव्यापी उर्दी जारी गरेपछि सशंकित छ । यहीकारण उनीहरू आन्दोलित भएका हुन् ।

उता, बोदेबरसाईन बजारका स्थानीयले पनि जग्गाको राजस्व नगरपालिकामा बुझाउँदा समेत लालपुर्जा नदिइएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा वैशाख २९ गते नै ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्