Logo
Logo

कुलो बिनाको राजनीति


882
Shares


कुनै पनि राजनीतिको ‘रोडम्याप’ भनेको त्यसले अँगाल्ने सिद्धान्त, विचार र नीति हो । नीतिबिनाको राजनीति हुँदैन । विचारबिनाको राजनीति कुलोबिनाको पानीजस्तै हो, जुन जतिबेला जता पनि बग्छ । हाम्रै दुई छिमेकीलाई हेर्ने हो भने चीनले कम्युनिष्ट विचारधाराको माध्यमबाट आर्थिक समृद्धि मात्र हासिल गरेको छैन, विश्व शक्तिको रूपमा अगाडि बढेको छ ।

अर्कोतर्फ भारत लोकतान्त्रिक विचारको माध्यमबाट विश्वको छैटौँ आर्थिक शक्तिको रूपमा उदयमान भएको छ । यी दुई छिमेकीको आर्थिक विकासबाट हामीले उपलब्धि हासिल गर्न नसकेका कारण ७५ वर्षदेखि हामी गरिबीको चपेटामा पर्दै आएका छौँ ।

यो ७५ वर्षमा हामीले समृद्धि हासिल गर्न धेरै व्यवस्थाहरू परिवर्तन ग¥यौं, राजादेखि कांग्रेस, कम्युनिष्ट सबैको शासन भोग्यौं तर पनि समृद्धि हासिल गर्न सकेनौँ, लोकतन्त्रको जगबाट सत्तामा पुगेका राजनीतिक दलहरू आ–आफ्नो सिद्धान्त, विचारबाट विचलित भएका कारण देशमा विकृति र विसंगति बढ्यो । जनता निराश भए । जो आए पनि कानै चिरेका जस्तो देखियो । समय बलबान हुन्छ भनेझैँ त्यही राजनीतिक विकृति र विसंगतिको जगमा रास्वपाको जन्म भयो ।

बुढापाकाहरू भन्थे– बाह्र वर्षमा खोला पनि फर्कन्छ । नभन्दै जेनजी विद्रोहले नेपालमा खोला फर्कायो र वालेन साहलाई सत्ता सुम्पियो । बालेनको पृष्ठभूमि ¥यापर भए पनि उनी कुन सिद्धान्त र विचारमा आबद्ध छन् भन्ने कुरा कसैलाई थाहा छैन । देश कांग्रेस, कम्युनिष्टले बिगारे, त्यसैले मैले बनाउँछु भन्ने हुटहुटी उनलाई होला, तर त्यो विचारविहीन हुटहुटीले मात्र देश बन्दैन, देश बनाउनका लागि सबैको हात र साथ हुनुपर्छ भन्ने कुरा उनले बिर्सिएका छन् ।

हिजो अचानक प्रतिनिधिसभाको बैठकमा उनको प्रस्तुतिले उनी राजनीतिका कच्चा खेलाडी हुन् भन्ने कुरा पुष्टि ग¥यो । उनमा राजनीतिक चेत नभएकै कारण उनी विवादमा परे । संसद्मा उनले नेपालले भारतको भूमि मिचेको हावादारी कुरा बोले । जबकि भारतले आजसम्म नेपालले आफ्नो भूमि मिचेको आरोप लगाएको छैन । बरु भारतले नेपालको भूभाग मिचेको छ । उनको यस्तो व्यवहारले दुई तिहाइको प्रधानमन्त्री भएर पनि उनी एक्लाजस्ता देखिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका दूतसँग मात्र होइन, अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतसँग पनि नभेट्ने उनको अहंकारले उनको अराजनीतिक चरित्रलाई उदाङ्गो पार्छ । उत्तर कोरियाका किमजोङ उनजस्तो अदृश्य दैनिकी बिताउने उनको दिनचर्याले उनमा तानाशाह प्रवृत्ति हुर्कँदै गएको कुरालाई उजागर गर्दछ । अन्ततः यही प्रवृत्ति उनको पतनको कारण बन्छ भन्ने कुरा उनले हेक्का राखेका छैनन् ।

जेनजी विद्रोहको जगमा उभिएका बालेनले आफ्नो जग भुल्दै गएका कारण जेनजी हत्याका आरोपीहरूमाथि कारबाही हुनसकेको छैन । सुशासनका नाममा चर्चा बटुल्न व्यवसायीहरूमाथि गरिएका धरपकड पनि न्यायालयको आँखामा पानीको फोकाजस्तो बनेको छ । उनले गरेका हरेक निर्णयहरू कानुनको दृष्टिमा अपरिपक्व बन्दै गएको छ । यो भनेको असफल नेतृत्वको संकेत हो ।

सरकारलाई आमनागरिकले चिन्ने भनेको उसको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनले हो । नीति तथा कार्यक्रमको भन्दा बढी चर्चा संसद्मा उनकै भयो । राष्ट्रपतिले संसद्मा सम्बोधन गर्दागर्दै उठेर हिँड्नुले उनमा राजनीतिक संस्कारको अभाव देखियो । त्यति मात्र होइन, नीति तथा कार्यक्रममा उठेको सवाल जवाफमा उनी सहभागी हुनै चाहेनन्, यो उनको अल्पज्ञान होइन, अराजकता हो । संविधान दिवसका दिन श्रीमतीसहित टुँडिखेलमा उपस्थित हुने तर, संविधान दिवसलाई सम्बोधन नगर्ने कुराले उनको नियतमाथि प्रश्न उठेको छ ।

जनमत सधैँ स्थायी हुँदैन । हिजो राजनीतिक दलले देश बिगा¥यो भन्ने भाष्यको जगमा जन्मिएको रास्वपाको आयु कति हो भन्ने कुरा भविष्यले निर्धारण गर्छ । हिजो करिब दुई तिहाइ पाएको एमाले आज तेस्रो दलमा झरेको छ । यसको कारण भनेको नेतृत्वमा अहंकार र घमन्ड नै हो । व्यक्ति फरक भए पनि ओली र बालेनको प्रवृत्तिमा खासै भिन्नता देखिन्न । एउटा बढी बोलेर बिग्रियो, अर्को बोल्दै नबोलेर बिग्रँदैछ ।

राज्यसत्ता भन्ने कुरा ख्यालठट्टा र मजाकको कुरा होइन, बालुवाटारमा डिडिसीको याक चिज खाँदैमा अथवा संसद्मा गोल्डस्टार जुत्ताको विज्ञापन गर्दैमा जनता खुशी हुने होइन, जनतालाई खुशी पार्न आर्थिक समृद्धिको सपना साकार पार्नुपर्छ, जुन कुरालाई बजेटले पनि सम्बोधन गर्न सकेन । अर्थात्, विचारविहीन राजनीतिले ल्याउने बजेट भनेको यस्तै हो, जसमा कुलो पनि छैन, पानी पनि छैन ।

प्रतिक्रिया दिनुहोस्