
एक इभी प्रेमी, अटोमोबाइल क्षेत्रसँग जोडिएको व्यक्ति र स्वच्छ भविष्यमा विश्वास गर्ने नागरिकको हैसियतले हालैको यो नीति देख्दा मन दुःखी भएको छ । यस्ता नीतिहरूले विद्युतीय सवारीसाधन (इभी) लाई मात्र निरुत्साहित गर्दैनन्, बरु नयाँ प्रविधि, नवप्रवर्तन र उपभोक्ताको रोजाइलाई समेत सीमित बनाउँछन् । नेपालले विश्वसँगै स्वच्छ ऊर्जा, हरित यातायात र आधुनिक प्रविधिको यात्रामा अघि बढ्नुपर्ने बेला, हामी भने त्यही यात्रालाई कठिन बनाउने निर्णयहरूतर्फ गइरहेका छौं जस्तो लाग्छ ।
सधैं सानो गाडी मात्र ठीक हुन्छ भन्ने सोच व्यावहारिक हुँदैन । कसैलाई ठूलो परिवारका लागि ७ सिटे गाडी चाहिन्छ, कसैलाई लामो दूरीको यात्रा गर्नुपर्ने हुन्छ त कसैलाई व्यवसायका लागि बढी क्षमताको गाडी आवश्यक पर्छ । उपभोक्ताको आवश्यकता र रोजाइ फरक–फरक हुने भएकाले नीतिले विकल्पहरूलाई प्रोत्साहन गर्नुपर्छ, सीमित होइन।
हरेक अटो प्रयोगकर्ताको एउटा सपना हुन्छ । कसैले पहिलो गाडी किन्ने सपना देखेको हुन्छ भने कसैले वर्षौंको मेहनत, बचत र संघर्षपछि आफ्नो परिवारका लागि सुरक्षित र आधुनिक इभी किन्ने योजना बनाएको हुन्छ । धेरै युवाहरूले भविष्यको योजना बुन्दा “केही वर्षपछि यो गाडी किन्छु” भन्ने सोच राखेका हुन्छन्, तर यस्ता नीतिहरूले ती सपनाहरूलाई अझ टाढा धकेल्ने काम गरेका छन् ।
आज इभी रोज्ने उपभोक्ताले केवल गाडी मात्र किनिरहेका छैनन्, उनीहरूले स्वच्छ वातावरण, कम प्रदूषण, न्यून इन्धन आयात र आधुनिक नेपालको पक्षमा एउटा ठूलो निर्णय गरिरहेका छन् । विगत केही वर्षमा नेपाली उपभोक्ताले इभीप्रति जुन विश्वास देखाएका छन्, त्यसले नेपाललाई दक्षिण एशियाकै सफल इभी बजारमध्ये एक बनाएको छ । यो सफलता सरकार, निजी क्षेत्र र उपभोक्ताको साझा प्रयासको परिणाम हो ।
तर, जब कर संरचना यस्तो बनाइन्छ, जसका कारण मध्यम वर्गीय परिवारले किन्न सोचिरहेको गाडी अचानक लाखौं रुपैयाँ महँगो हुन पुग्छ, तब त्यसले बजारलाई मात्र असर गर्दैन, हजारौं उपभोक्ताको मनोबल पनि कमजोर बनाउँछ । धेरैले आफ्नो बजेट, ऋण र बचतको योजना बनाएर मात्र गाडी किन्ने निर्णय गरेका हुन्छन् । अचानक थपिएको यस्तो भारले उनीहरूको सपना र योजनामा प्रत्यक्ष आघात पु¥याउँछ ।
अहिले स्वच्छ ऊर्जा र हरित यातायातलाई प्रोत्साहन गर्ने सही समय हो । विश्वभरका देशहरू इभीलाई थप पहुँचयोग्य बनाउन कर छुट, सहुलियत र पूर्वाधारमा लगानी गरिरहेका छन् । नेपालले पनि त्यही दिशामा कदम चाल्नुपर्छ । यदि हामी वास्तवमै प्रदूषण घटाउन, पेट्रोलियम पदार्थको निर्भरता कम गर्न र आधुनिक प्रविधि भित्र्याउन चाहन्छौं भने हाम्रा नीतिहरूले उपभोक्तालाई प्रोत्साहन गर्नुपर्छ, निरुत्साहित होइन ।
इभी केवल एउटा सवारीसाधन मात्र होइन, यो नेपालको स्वच्छ, आधुनिक र दिगो भविष्यतर्फको यात्रा हो। आशा छ, सम्बन्धित निकायहरूले उपभोक्ताको भावना, बजारको वास्तविकता र देशको दीर्घकालीन हितलाई ध्यानमा राखेर यस निर्णयमाथि पुनर्विचार गर्नेछन् ।














