Logo
Logo

सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पा भेटिए


1.1k
Shares

काठमाडौं । सगरमाथामा ६ दिनअघि बेपत्ता ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा फेला परेका छन् ।  उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका हुन् ।

The current image has no alternative text. The file name is: dawa-shepa.jpg

शेर्पाका हातका औँलामा हिउँका कारण क्षति पुगेको छ र उनलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ । बुधवार काठमाडौंस्थित अल्टिच्युड एयरको हेलिकोप्टर खोजी तथा उद्धारका लागि सगरमाथा क्षेत्रमा परिचालन गरिएको थियो । 

 हेलिकोप्टरले ५,२०० मिटर उचाइको सगरमाथा आधार शिविरदेखि तेस्रो शिविरभन्दा तलसम्म व्यापक खोजी गरेको थियो । उक्त उद्धार अभियानमा दुई जना सहयोगी पनि संलग्न थिए ।

उद्धार टोली अहिले शेर्पा फेला परेको स्थानतर्फ पुगेर उनलाई आधार शिविर हुँदै काठमाडौं ल्याउने तयारीमा छ ।

दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा जेठ १५ (शुक्रवार) तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्कविहीन भएको उनी आबद्ध हिमालयन ट्राभर्स एडभेन्चर प्रालिले जनाएको थियो । 

यस सिजनमा सगरमाथा र मकालु क्षेत्रमा गरी हालसम्म ७ जना आरोही तथा गाइडको मृत्यु भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्