काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण बुझाएर सहयोग गर्ने बताएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आफू र पार्टीका अन्य नेताहरुले समेत आफ्नो सम्पत्ति विवरण बुझाएर सरकारलाई सहयोग गर्ने बताए।
यद्यपि आयोग गठन प्रक्रिया र कार्यादेशको स्वच्छतामाथि भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै उनले सरकारलाई सचेतसमेत गराए।
उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राखेको भन्दै संविधान र कानूनअनुसार सरकारले गर्ने सबै प्रयासमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताए।
उनले सार्वजनिक पद धारण गरेका नेता र पदाधिकारीहरुको सम्पत्तिसम्बन्धीको विषय छिटो टुंगियोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि बताए।
उनले केही न्यायाधीश र राजनीतिक नेताहरूले सम्पत्ति विवरण नबुझाउने अभिव्यक्ति दिएको टिप्पणी गर्दै त्यसमा कांग्रेसको कुनै टिप्पणी नरहेको स्पष्ट पारे।














