Logo
Logo

सुधन गुरुङले प्रहरी हिरासतमै पुगेर जेनजी अगुवामाथि दुर्व्यवहार गरेको आरोप


0
Shares

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पूर्वगृहमन्त्री तथा सांसद सुधन गुरुङले प्रहरी हिरासतमै पुगेर आफ्ना अभियन्तामाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ। अभियानले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग समेत गरेको छ।

अभियानले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा हिरासतमा रहेका अभियन्तामाथि राजनीतिक दबाब सिर्जना गरिएको र धम्कीपूर्ण व्यवहार भएको दाबी गरिएको छ।

विज्ञप्तिअनुसार, प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा जेनजी अभियानका अगुवाहरू अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई हाल प्रहरी वृत्त लैनचौर र सोह्रखुट्टेको हिरासतमा राखिएको अभियानले जनाएको छ।

अभियानका अनुसार, नियन्त्रणमा लिइएको करिब एक घण्टापछि पूर्वगृहमन्त्री गुरुङ हिरासत कक्षमै प्रवेश गरी अभियन्ताहरूसँग अस्वाभाविक, अमर्यादित र दबाबमूलक व्यवहार गरेका थिए।

विज्ञप्तिमा गुरुङले “तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ?”, “यो अन्तिम मौका हो”, “अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ” तथा “सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस्” जस्ता अभिव्यक्ति दिँदै मानसिक दबाब सिर्जना गर्ने प्रयास गरेको आरोप लगाइएको छ।

अभियानले कुनै पनि नागरिक प्रहरी हिरासतमा रहेका बेला प्रभावशाली राजनीतिक व्यक्तिले थुनुवा कक्षमै प्रवेश गरेर दबाब दिनु कानुनी शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ। साथै, हिरासतमा राखिएका अभियन्तालाई आधारभूत मानवअधिकारअनुसार पर्याप्त खाना र पिउने पानीसमेत उपलब्ध नगराइएको दाबी गरिएको छ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अभियानले हिरासतमा रहेका नागरिकमाथिको राजनीतिक दबाब र धम्कीको निष्पक्ष छानबिन गर्न, गुरुङले दिएको भनिएका अभिव्यक्तिहरूको वास्तविकता सार्वजनिक गर्न, मानवअधिकार उल्लंघनबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न तथा भविष्यमा राजनीतिक हस्तक्षेपबाट प्रहरी प्रशासनलाई मुक्त राख्ने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्