काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि भ्रमणका लागि विमानस्थल पुगेका हुन् उनको भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भइसकेको छ ।

भारतीय विदेशमन्त्री डा.एस.जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा निस्किएका हुन् । उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशको प्राथमिकताबारे संवाद गर्ने बताए । ‘हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौँ । अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौँ,’ उनले भने ।
भ्रमणका क्रममा खनालले भारतीय समकक्षी विदेशमन्त्री डा। जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ । भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका रहेको छ ।














