काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले कानुन अधिकृतहरूलाई लगनशील भएर काम गर्न आग्रह गरेकी छन् । शुक्रवार राजधानीमा सम्पन्न दोस्रो कानुन अधिकृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले भनसुन र सोर्सफोर्स को प्रचलनबाट टाढा रहन निर्देशन दिएकी हुन् ।

“भनसुन गर्ने संस्कृति सरकारको विरुद्धमा छ,” उनले भनिन्, “साथीले साथीलाई धोका नदिनुहोस् । यस्तो काम गर्दा घाटा तपाईँहरूलाई नै हुन्छ ।” मन्त्री गौतमले कानुन मन्त्रालयलाई राज्यको ‘मस्तिष्क’ रूपमा को रूपमा चित्रण गर्दै अधिकृतहरूले दिने राय, टिप्पणी र मस्यौदाले नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने बताइन् ।
उनले अधिकृतहरूलाई जिम्मेवार बनेर विधिको शासन बलियो बनाउन र देश निर्माणमा योगदान दिन आह्वान गरिन् । उनले सम्मेलनमा प्राप्त फ्रेमवर्कलाई आधार बनाएर मन्त्रालय अघि बढ्ने प्रतिबद्धता जनाइन् ।














