Logo
Logo

प्रशंसा सुवेदीको उडानः जेन्जी आन्दोलनदेखि रजतपटसम्म


प्रशंसा सुवेदी, कलाकार

252
Shares

अहिले लालीबजार सिनेमाको जति चर्चा चुलिएको छ, त्यस भित्रका कलाकारको अभिनयको पनि उत्तिकै प्रशंसा भइरहेको छ । यही चलचित्रमार्फत् डेव्यु गरेकी प्रशंसा सुबेदीको अभिनय पनि निकै तारिफयोग्य रहेको आम दर्शकले प्रतिक्रिया दिएका छन् । उनको अभिनयलाई यतिखेर धेरैले मन पराएका छन् । कन्टेन क्रिएटर हुँदै चलचित्र क्षेत्रको यात्रा तय गरेकी प्रशंसा अहिले कानुन विषय लिएर अध्ययनरत छिन् । उनै कलाकार प्रशंसा सुबेदीसँग दृष्टिका लागि रेजिना पाण्डेको जम्काभेटः

‘लालीबजार’बाट सफलता पाउँदा कस्तो लागिरहेको छ ?

धैरै खुशी लागेको छ । सिनेमाको मेरो काम धेरैले मनपराउनु भएको छ । मेरो डेव्यु चलचित्र हो, लालीबजार । पहिलो चलचित्रबाट यत्तिको सफलता पाउँदा निकै खुशी छु ।

यो चलचित्र यति सफल हुन्छ भनेर सोच्नुभएको थियो ?

राम्रो काम गर्दा त्यसले राम्रै प्रतिफल दिन्छ भनेर नै सोचिन्छ । यो चलचित्र कथा र टिमको कन्सेप्टले गर्दा चल्छ भन्ने नै लागेको थियो । तर सोचे भन्दा बढी दर्शकले मनपराईदिनुभयो ।

यो चलचित्र प्रदर्शनमा आउँदा निकै अवरोध भएको थियो, त्यतिबेला तपाईँलाई कति डर लाग्यो ?

विविध कारणले गर्दा चलचित्रलाई प्रदर्शनमा रोक लगाउने कुुरा भएको थियो । तर पछि कानुनी रुपमा प्रदर्शनमा ल्याउन सहजता प्रदान गरियो । सायद, चलचित्र हलमा नपुगेको भए सबै लाई अन्याय हुने रहेछ । धेरैले यस्तो राम्रो कथावस्तु बोकेको चलचित्रलाई पनि रोक्न खोज्ने भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सकारात्मक प्रतिक्रिया आउँदा खुशी लाग्यो । चलचित्र हेरेका धैरै दर्शकले यस्तो चलचित्र बन्नुपर्छ भन्दा धैरै खुशी लागेको छ ।

यो चलचित्रमा कलाकार स्वस्तिका खड्कासँग काम गर्नुभएको छ, कस्तो अनुभव रह्यो ?

म सानैदेखि नै कलाकार स्वस्तिका खड्काको फ्यान हुँ । उहाँसँग काम गर्न पाउनु मेरो लागि ठूलो अवसर हो । यस मानेमा म आफूलाई भाग्यमानी सम्झन्छु । पहिलो चलचित्र उहाँसँग गरे, त्यही नै सफल पनि भयो । यो भन्दा ठूलो उपलब्धि मेरो लागि अरु के हुन सक्छ ? कतिले त मलाई स्वस्तिमा खड्का तिम्रो दिदी हो पनि भने । हामी दुईको अनुहार मिल्छ पनि भन्छन् मलाई खुशी लाग्छ ।

तपाईँको नजरमा स्वस्तिमा खड्का कस्तो कलाकार हो ?

निकै मिहेनती, कामलाई माया गर्ने कलाकार हो । यसो सोच्छु, स्वस्तिमा खड्का त्यसै नम्वर वान कलाकार भएको भने होइन रहेछ । उहाँको काम प्रतिको लगावले नै सफल बनाएको हो भन्ने अनुभव गरेको छु ।

तपार्इँको टिकटक हुँदै चलचित्रको यात्रालाई कसरी सम्झनुहुन्छ ?

मैलै टिकटक कक्षा नौ पढ्दै गर्दा नै बनाउन थालेकी हुँ । आज सात बर्ष भयो, अहिलेसम्म बनाइरहेको छु । अहिले कन्टेन क्रिएटरको पनि काम गर्दछु । ब्रान्डसगँ आवद्ध भएर धैरै काम गरिरहको छु ।

टिकटकबाट पैसा कमाउन कति सजिलो छ ?

छैन, हरेक कामको आफ्ना आफ्नै सोच हुन्छन् । सजिलो, अप्ठेरो दुबै हुन्छ । कुनै पनि काम सजिलै हुँदैन, त्यसको लागि धैरै सोच्नुपर्छ, कन्सेप्ट पनि बनाउनुपर्छ ।

कन्टेन क्रिएटरहरूमाथि चाहिँ गाली र तालीको वर्षा भईरहको हुन्छ, यसलाई कसरी लिनुहुन्छ ?

हो, माया गर्नेलाई मायाकै रुपमा हेरिरहन्छु । गाली गर्नेले पनि मलाई के कारणले गाली गरेछ भन्ने नियाल्ने प्रयत्न चाहिँ गर्दछु । तर प्रतिक्रिया भने दिँदैन ।

अहिले सोसल मिडिया धैरैलाई राम्रो प्लेटफम बने पनि यसैले धेरैको जीवन बिगारेको पनि सुनिन्छ नि, यस्तो किन भइरहेको होला ?

एउटा चक्कुलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा आफूमा निर्भर गर्छ । त्यसलाई सदुपयोग गर्ने या दुरुपयोग गर्ने भन्ने चाहिँ आफनै हातमा छ । गलत ढंगले प्रयोग गरियो भने त्यसले हानि गर्छ । सोसल मिडिया पनि त्यही हो ।

तपाईँलाई जेन्जी अभियन्ता पनि भनिन्छ नि हैन ?

हो, समाजमा देखेको राजनीतिक विषयमा मलाई बोल्न मन लाग्छ, म बोल्छु । यो देशको नागरिक भएकाले मलाई चित्त नबुझेको कुरा बोल्न पाउनु मेरो अधिकार हो । मेरो सोसल मिडियामार्फत् बोल्ने गर्छु । मैलै जेन्जी आन्दोलनको समयमा मैले बनाएका कन्टेनहरूलाई धैरैले मन पराइदिनुभयो ।

तपाईँ जेन्जी अभियन्ता र आजको सरकार पनि जेनजी पुस्ताले चाहेकै भएकाले सरकारका कामसँग कति सन्तुष्ट हुनुहुन्छ ?

अहिले खासै मूल्यांकन गर्ने बेला भएको छैन । जति यो सरकारले अहिले काम गरिरहको छ, त्यसलाई राम्रै गरेको मान्नुपर्छ ।

राजनीतिक विषयमा बोल्न छोड्दिन पनि भन्नुभयो यसले उदाउँदै गरेको तपाईँको कलाकारितालाई असर गर्छ कि ?

फरक पर्दैन । कलाकारिता एउटा पाटो हो, राजनीति अर्को पाटो हो । मलाई मेरो देशको माया लाग्छ, चित्त नबुझेको कुरा व्यक्त गर्न त मैलै पाईहाल्छु नि ।

अब रिलेसनसिपको कुरा गरौं, तपाई कसैसँग रिलेसनसिपमा हुनुहुन्छ ?

छैन, अहिले कानुन विषय लिएर पढिरहको छु । काममै व्यस्त छु । रिलेसनसिपमा बस्ने फुसर्द नै छैन । अहिले यसबारेमा सोचेको पनि छैन । समय आएपछि हेरौंला ।

तपाईँको सफलतामा खुशी हुने मान्छे अझै भेटाउनु भएको छैन ?

परिवार र साथीभाई नै हुन मलाई मन पराउने र मेरो सफलता खुशी हुने मान्छे ।

प्रतिक्रिया दिनुहोस्