
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित खनालले १९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १२४ मत प्राप्त गरे ।
सभापति पदका अर्का उम्मेदवार केदार रजौरेले ६ र किरणकुमार आचार्यलेले २ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक लोकमान रिजालले जानकारी दिए । उपसभापति पदमा निराजन थापा विजयी भएका छन् । उनले २४१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी सुनिता रावतले ८० मत प्राप्त गरे ।
त्यसैगरी, सचिवमा असीम भुसाल निर्वाचित भएका छन्। उनले २०० मत प्राप्त गरे भन अर्का उम्मेदवार बलीराम खत्रीले १२३ मत प्राप्त गरे । सहसचिवमा प्रमिला रोका विजयी भएकी छन् ।
उनले १४८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वीद्वय क्रमशः दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरे । सदस्यहरुमा प्रताप पुन, चुम्मन चौधरी, गोमा शर्मा, पवित्रा विक निवार्चित भएका छन् ।
त्यस्तै रास्वपा ताप्लेजुङको सभापतिमा राजनकुमार गुरुङ चयन भएका छन् । गएराति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उनी सर्वसम्मतिमा चयन भएका हुन् ।
पार्टी उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं चुनिएका छन् ।
अधिवेशनले सात जना सदस्य पनि सर्वसम्मतिमा चुनेको छ । जसमा कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा रहेका छन् ।














