काठमाडौं । भारतमा घरेलु प्रयोजनका लागि एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले बढाइएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, १४.२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्य ९१३ रुपैयाँबाट बढेर ९४२ रुपैयाँ पुगेको छ । यसअघि गत मार्च ७ मा पनि प्रति सिलिन्डर ५० रुपैयाँले मूल्य बढाइएको थियो ।
भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा पनि एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने देखिएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा मूल्य समायोजन गर्दै आएको छ ।
आईओसीले पठाउने नयाँ मूल्यसूची, ढुवानी लागत, विनिमय दर र निगमको समग्र नाफा-नोक्सान अवस्थामा निर्भर रहने भए पनि नेपालमा पनि मूल्य बढ्ने सम्भावना देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य उच्च रहेमा निगमलाई वित्तीय भार बढ्न सक्ने र घाटा व्यवस्थापन गर्न नसके उपभोक्ताले मूल्यवृद्धिको असर बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।
नेपालमा खाना पकाउने मुख्य इन्धनका रूपमा एलपी ग्यास प्रयोग हुने भएकाले भारतमा हुने मूल्य परिवर्तनले नेपाली बजार र उपभोक्तामा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । आगामी दिनमा आईओसीबाट आउने नयाँ मूल्यसूचीलाई नेपाल आयल निगम र उपभोक्ताले निकै चासोका साथ हेरिरहेका छन् ।














