Logo
Logo

बालेन सरकारसँग धुर्मुसको अन्तिम आशा, छोरीको उपचार बीचमै छोडेर फर्किए


1.3k
Shares

काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ नेपाल फर्किएका छन् । गत मंसिरमा पत्नी कुञ्जना घिमिरे र छोरी सुविहानीसहित अमेरिका लागेका उनी ६ महिनामै नेपाल फर्किएका हुन् । छोरीको पहिलो चरणको शल्यक्रिया सकिएपश्चात् गौतमबुद्ध विमानस्थलको हिसाबकिताब सल्टाउने उद्देश्य बोकेर उनी स्वदेश फर्किएका हुन् ।

अमेरिका पुगेलगत्तै उनले एक बकपत्रमार्फत् जटिल शारीरिक समस्याबाट ग्रसित छोरीको उपचारको सहजताका लागि अमेरिकाको ग्रीनकार्ड लिएर आएको सार्वजनिक गरेका थिए । अमेरिकाले ‘एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड’ दिएकाले धुर्मुसकी छोरीको उपचार अमेरिकामा निशूल्क भइरहेको छ । मुख्य शल्यक्रिया गर्न भने बाँकी नै छ ।

आफ्नो पहलमा चितवनमा निर्माण थालिएको गौतम बुद्ध क्रिकेट रङ्गशालाको ठूलो ऋणभार धुर्मुसको काँधबाट उत्रिएको छैन । धुर्मुस–सुन्तली फाउन्डेसनले ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँ (पछिल्लोपटक पुल्चोक इञ्जि नियरिङ अध्ययन संस्थानले गरेको प्राविधिक मूल्याङ्कन अनुसार) बराबरको निर्माणाधीन भौतिक संरचना भरतपुर महानगरलाई हस्तान्तरण गरेको थियो । तर, सो रङ्गशाला निर्माणका क्रममा फाउन्डेसनले उधारोमा ओसारेको सामग्रीवाफतको १८ करोड ५३ लाख ४ सय २४ रुपैयाँ (भरतपुर महानगरको अडिट रिपोर्ट अनुसार) बक्यौता भने अझै भुक्तानी भएको छैन ।

अमेरिका जानुअघि धुर्मुसले यो बक्यौता सल्टाउन लामो सङ्घर्ष गरेका थिए । करिब पाँचवर्ष उनले भरतपुर महानगरदेखि सिंहदरबारसम्म कैयौंपटक चक्कर लगाए । मन्त्रिपरिषदले उक्त बक्यौता सल्टाउनका लागि रकम निकासा गर्ने भनेर दुईपटक निर्णय गरे पनि कार्यान्वयन भएन ।

सरकारका विभिन्न निकायबाट आधा दर्जनपटक अनेक नामका छानबिन भए पनि कुनै आर्थिक अपचलन देखिएको छैन । अख्तियारदेखि सतर्कता केन्द्रसम्मले रङ्गशालाका लागि सङ्कलित रकम फाउन्डेसनले दुरुपयोग नगरेको भनेर क्लीन चिट दिइसकेका छन् । यद्यपि, सामाजिक सञ्जालमा भने धुर्मुसमाथि गाली र आक्षेपको वर्षा हुने गरेको छ ।

गतवर्षको बजेटमा समेत गौतम बुद्ध रङ्गशालाको सिर्जित सम्पत्ती खरिदका लागि भनेर १५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । सोपश्चात् साउनमा १५ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट भरतपुर महानगरको खातामा पुग्यो । तर, महानगरले विभिन्न बहाना गरेर भुक्तानी दिन मानेन । यो रकम अझै पनि महानगरको खातामा नै छ । यदि असारसम्म भुक्तानी भएन भने रकम फ्रिज भएर अर्थमन्त्रालयमा नै फर्किन्छ । त्यही भएर ताकेताका लागि धुर्मुस फेरि एकपटक सरकारी निकायहरु धाउनुपर्ने भएपछि उनी नेपाल आएका हुन् ।

बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनेपश्चात् धुर्मुस आशावादी बनेका छन् । बालेन काठमाडौँको मेयर हुँदा नै उनलाई भेटेर धुर्मुसले रङ्गशालाको सारा कथाव्यथा सुनाएका थिए । अहिले उनी शक्तिशाली प्रधानमन्त्री बनेपछि आफ्नो समस्या हल हुने आशामा धुर्मुस छन् ।

प्रतिक्रिया दिनुहोस्