Logo
Logo

सुके पानीको ‘मूल’ बढ्यो सङ्कट


630
Shares

महोत्तरी । बर्दिबास-१ का ७५ वर्षीय भक्त भण्डारी बस्तीको सिरानको पानीखोल्सीको अवस्था देखेर बिरक्तिनुहुन्छ । “यो खोल्सीको जरुवा दुई दशकअघि पहिलेको बर्दिबास क्षेत्रभरिकै खानेपानीको स्रोत थियो, अहिले त पानी बग्ने पहिलेको ठाउँमा सुक्खा छन् ।” बर्दिबास-१ को सिरानको दाहाल्नी खोल्सीको पनि उस्तै हाल भएको उनी बताउँछन् । 

The current image has no alternative text. The file name is: water.jpg

बर्दिबासमात्र नभएर छिमेकको भङ्गाहा–४ पलारको जोकाहा भूल (जरुवा) मासिएको छ । एक समयमा जोकाहा भूलको पानी सम्झेर बटुवा टाढैदेखि तिर्खा साँचेर आउने गरेका पलारका ८५ वर्षीय चौठी बाँतरलाई हिजोझैँ लाग्छ । “जोकाहा मूल खानेपानीमात्र नभएर खेतको सिँचाइका लागि पनि प्रयोग गरिन्थ्यो, यसैको नाउँमा यहाँका खेत धान उत्पादनका लागि कहलिएको थियो”, विगत सम्झँदै उनले भने, “देख्दादेख्दै यो मूल पुरियो, अहिले पानीको नाउँनिसान छैन ।” भण्डारी र बाँतरजस्तै विजलपुरा जुडी टोलका ८० वर्षीय प्रमोदकुमार सिंह जुडी भूलले सिँचाइ हुने दुई दशकअघिको अब्बल जग्गा अब काँस पनि नउम्रने बनेको लामो सुस्केरा हाल्दै बताउँछन् । अब त पछिल्लो पुस्तालाई भूलबारे बताउन पनि दन्त्यकथा हाल्नुपर्ने अवस्था बनेको सिंह बिरक्तिँदै बताउँछन् ।

महोत्तरीका पानीका जरुवा यसरी सुकेपछि बुढापाका भने ‘के समय आयो रु’ भन्दै पिरोलिएका भेटिन्छन् । सदावहार बहने जरुवा पानीका मुहान सुकेपछि यहाँको जनजीवनमा असर परेको छ । यसले बर्सेनि पानीको सङ्कट बढ्दो छ । खासगरी गर्मी याममा त रातु, मरहा र बाँके नदी शिरमा पनि खोल्साखोल्सीबाट झर्ने पानीका मुहान अहिले सबै सुकेका छन् ।  खोल्सीका जरुवा र नदीमात्र नभएर बर्दिबास, गौशाला र भङ्गाहा नगरक्षेत्रका इनार र चापाकल धमाधम सुक्दै गएपछि यी नगरक्षेत्रका कैयौँ बस्तीमा पानीको हाहाकार बढेको छ ।

“उ हेर्नोस् न, इनारमा पानी देखिन छाड्यो, अब पानीबिना छटपटिने दिन आउँदैछ”, बर्दिबास–७ मनहरिपुरका ३४ वर्षीय नीरबहादुर खत्री भन्छन्, “कमसेकम पानी त ढुक्कले पाइयोस्, त्यो पनि हाम्रो भाग्यमा छैन ।” पानीको अभावलाई भाग्यसँग जोड्ने उनले गर्मीयाममा पानीको हाहाकार भोग्नु आफूहरूको नियति नै बनेको बताउँछन् ।

चुरे पहाडको फेदी र वनजङ्गल नजिक हुँदा यस भेगमा पानीको सङ्कट कम हुन पर्ने लख काटिन्छ । तर जिल्लामा सबैभन्दा बढी पानीको समस्या यिनै नगरक्षेत्रमा पर्ने गरेको छ । चुरे र यसका शृङ्खलाबाट निस्कने खोल्साखोल्सी व्यवस्थित नगरिदा बर्सेनि गेग¥यान थुप्रिएर पानीका मुहान पुरिने गरेका छन् । जिल्लाको मध्य र दक्षिणी क्षेत्रको माटो चिम्ट्याइलो र लिसाइलो हुँदा भूमिगत सतहमा पानी चाँडै सुक्दैन । तर उत्तरी क्षेत्रको माटो बालु गेग¥यान मिसिएको हुँदा गर्मी याममा यहाँको जग्गा चाँडै रुखिने र मुहान सुक्ने समस्या बढेको चुरे तथा जलाधारविज्ञ जिल्लाकै भङ्गाहा–७ मेघरोलका बासिन्दा डा विजयकुमार सिंह बताउँछन् ।

चुरे क्षेत्रका जलाधार क्षेत्रमा बलौटे गेग््य्रान थुपरिएर पानीको मुहान पुरिनु, वनजङ्गल पातलिनु र पहाडी थुम्का र नदी किनारमा अनियन्त्रित उत्खनन नरोकिनुले यहाँ पानीको सतह गहिरिँदै गएको विज्ञहरुको भनाइ छ । “भएका मुहान पुरिएका छन्, जलाधार क्षेत्रको संरक्षण हुन सकेको छैन, वनक्षेत्रमा पुनर्भरण पोखरी बनाउन ध्यान पुगेको छैन”, चुरे तथा जलाधार क्षेत्रको अध्ययनमै विद्यावारिधि गरेका डा सिंह भने, “हामी चेतेका छैनौँ, यही चालमा पानीको ठूलो सङ्कट बढ्ने देखिन्छ ।” असन्तुलित वर्षा, खडेरीजस्ता विपद् चुरे र यस वरिपरिका जलाधार क्षेत्र संरक्षण गर्न नसकिनु पनि प्रमुख कारणमध्ये पर्ने उनको भनाइ छ । 

मधेसमा दक्षिणको दशगजासम्मै र त्यस तल पनि पानीको मुख्य स्रोत चुरे नै भएको विज्ञ बताउँछन् । तर मधेसको जीवनसँग जोडिएको चुरे संरक्षणमा पर्याप्त ध्यान नपुगेको अर्का चुरे, जलाधार तथा वातावरणविज्ञ डा नागेन्द्रप्रसाद यादव बताउँछन् । यस कार्यमा तीनै तहका सरकारबीच आपसी सहकार्य र समन्वय हुनपर्ने डा यादवको सुझाव छ । “अब पनि चुरे संरक्षणमा ध्यान नदिने हो भने जिल्लाको तल्लो भेगसम्मका जग्गा केही वर्षभित्रै मरुभूमि बन्नेछ”, डा यादव भने ।  
 
बर्दिबास र गौशालामा खानेपानीका लागि खोल्सीका जरुवा, चापाकल र इनार मुख्य स्रोत हुन् । गर्मी याममा पछिल्ला दुई दशकयता खानेपानीको सङ्कट पर्दै गएको बर्दिबास–३ गौरीडाँडाका बासिन्दा सामाजिक अगुवा ७० वर्षीय तुलसीप्रसाद ढुङ्गाना सम्झछन् । बर्दिबास र गौशालासँगै भङ्गाहा नगरपालिकाका तीन वटा वडा बस्तीमा पानीको सङ्कट पर्ने गरेको छ । इनार र चापाकल भङ्गाहा ३, ४ र ५ वडाभित्रका १२ भन्दा बढी बस्तीमा खानेपानीका मुख्य स्रोत हुन् । यसपालि हिउँदे वर्षा नभएको हुँदा जेठ तेस्रो साताको प्रचण्ड गर्मीकै बेला यहाँका अधिकांश इनार र चापाकल सुकेका भङ्गाहा–४ रामनगरका ६५ वर्षीय हरिदेव साह बताउँछन् ।  

यहाँ गर्मी याममा मानिसमात्र नभएर घरपालुवा पशुबस्तु, चराचुरुङ्गी र  वन्यजन्तु पानीको सङ्कट झेल्दैछन् । पछिल्ला केही वर्षयता वनक्षेत्रका खोल्सी सुकेपछि बँदेल, दुम्सी र नीलगाईसहितका जन्तु आहारा र पानीको खोजीमा दक्षिणी क्षेत्रका बस्तीबस्तीभित्र पुगेका छन् । पानीको अभाव भोग्दै आएका सर्वसाधारणलाई अहिले वन्यजन्तु बस्तीबस्ती पसेपछि बाली र आफ्नै पनि सुरक्षाको चुनौती थपिएको भङ्गाहा–३ कटैया बस्तीकी ६० वर्षीया रामराजी यादवको भनाइ छ ।

जिल्लामा लामो खडेरी पर्दा भने दक्षिणी क्षेत्रमा पनि खानेपानी कहिलेकाहीँ ठूलठूला ट्याङ्कीबाट वितरण भएको छ । “यसपालि त अहिलेसम्म चापाकलमा पानी आउँदैछ, पोहोर साल त बाहिरबाट ट्याङ्कीमा ओसारेर नगरपालिकाले वितरण गरेर बचाएको थियो”, गत वर्षको दुःख सम्झँदै जलेश्वर–१ का ७० वर्षीय सुधीर साह सम्झन्छन् ।    

पानीका स्रोतका मुहान धमाधम सुकेपछि अब बाली लगाउन र हुर्काउन कठिन बनेको सर्वसाधारणको पीडा छ । चुरे तथा जलाधारविज्ञ भने यिनको संरक्षणबिना महोत्तरीमात्र नभएर मधेसमै पानीको दीर्घकालीन समाधान पहिल्याउन नसकिने ठोकुवा गर्छन् । “अब यसले गरेन, उसले गरेन भनेर दोष अन्त देखाएर समाधान छैन”, डा सिंहले भने, “स्थानीयतह, प्रदेश र केन्द्र सरकारबीचको समन्वयात्मक कामले मात्र यो समस्या समाधानतिर लान सकिन्छ ।” 

प्रतिक्रिया दिनुहोस्