Logo
Logo

मधेशलाई सधैँ अधिकार नदिने षड्यन्त्र भइरह्यो : सिके राउत


315
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) ले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन् । 

सोमवार माईतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनमा सम्बोधन गर्दै उनले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेशका मागप्रति अनुदार हुने गरेको बताएका हुन् । उनले मधेशबाट मत लिएर सरकार बनाउने तर मधेसका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप लगाए । राणा शासनकालमा मधेशमाथि उपनिवेशवादी शासन लादिएको दाबी गर्दै उहाँले पछिल्ला ७५ वर्षमा काँग्रेस र कम्युनिष्ट दलहरूले पनि मधेशलाई विभिन्न रूपमा ठग्दै आएको आरोप लगाए ।

२००७/००८ सालपछि काँग्रेस र कम्युनिष्टहरुले सत्ताको नेतृत्व गरेपनि आजसम्म मधेसीलाई पूर्ण अधिकार नदिएको उनको भनाइ रहेको छ । उनले नागरिकता, सुकुम्वासी व्यवस्थापन र स्वायत्तता लगायतको मधेशको माग पूरा हुन नसकेको बताएका हुन् । उनले सशस्त्र द्वन्द्वका क्रममा पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै माओवादी नेतृत्वको आन्दोलनबाट समेत मधेशीहरू ठगिएको बताउनु भयो । मधेशको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने उनले दाबी गरे । 

उनले भने, ‘मधेशलाई राणाहरुले पनि ठगे, उपनिवेश शासन नै लादे, काँग्रेस कम्युनिष्टहरुले पनि विगत ७५ वर्षदेखि ठग्दै आएको हामीकहाँ प्रमाण नै छ । २००७/००८ सालमा काँग्रेसहरूको सत्ता आयो तर अहिलेसम्म कुनै अधिकार नदिने, नागरिकत्ता नदिने, सुकुम्बासीहरुलाई व्यवस्थापन नगर्ने, स्वायत्तता नदिनेगरि विभिन्न रुपले ठगी गर्दै आएको छ । मत चाहिँ मधेसबाट लिने, सरकार चाहिँ मधेसबाट नै बनाउने तर जहिले पनि अधिकार चाहिँ नदिने षड्यन्त्र हुँदै आएको छ । त्यतिमात्रै होइन माओवादी आन्दोलन हुँदा पनि मधेसीहरु ठगिइएको हामीकहाँ प्रमाण छ ।’

उनले मधेशका माग सम्बोधन गर्न वर्तमान सरकारलाई आग्रह गरे । मधेसको माग सम्बोधनको लागी जिल्ला प्रशासन कार्यलयमार्फत सोमबार नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्