Logo
Logo

भिजिट भिसामा काउन्टर सेटिङ गर्ने वायुसेवा निगमका दुई कर्मचारी पक्राउ


2.2k
Shares

काठमाडौं । भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा करार सेवामा कार्यरत ग्राउण्ड ह्याण्डेलिङ प्रबिन लामिछाने र सुमित्रा चन्द रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार प्रकाउ गरेको हो ।

उनीहरुले काउन्टर सेटिङ गर्ने गरेको सुराक पाएपछि अध्यागमन विभागले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो । अध्यागमन विभाग र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको पत्रको आधारमा अनुसन्धान गरेर दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

उनीहरुले एक जना भारतीय नागरिकलाई सुरुमा भारत जाने बोर्डिङ पास दिएका थिए । सुरक्षा जाँच पार गरेपछि उनलाई फेरी दुबई जाने बोर्डिङ पास दिएर काउन्टर सेटिङ गरेको आरोप छ । जेठ ३ मा ती भारतीय नागरिक दुबई उडेको अध्यागमनको रेकर्डमा भेटिएको छ ।

नेपालबाट तेस्रो मुलुक जानु परेमा भारतीय नागरिकले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्छ । तर, प्रस्थान अनुमति नै दिन नमिल्ने यात्रुलाई उनीहरुले दुई वटा विमान कम्पनीको बोर्डिङ पास दिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

आरोपीहरूले इन्डीगो एयरलाइन्सको भारत जाने बोर्डिङ पास र फ्लाई दुबईको दुबई जाने बोर्डिङ उपलब्ध गराएको भेटिएको छ । अध्यागमन विभाग स्रोतका अनुसार सुरक्षा जाँच पार गरेपछि ती नागरिकसँग सुमित्राले इन्डीगो एयरलाइन्सको बोर्डिङ पास फिर्ता लिएको विमानस्थलको सिसिटिभी फुटेजमा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्