Logo
Logo

दीपक खड्कासहित तीन नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण


756
Shares

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री दीपक खड्कासहित तीन नेतालाई स्पष्टीकरण सोधेको छ । कांग्रेसको अनुशासन समितिले खड्कासहित संखुवासभाका तीन जना नेताहरूलाई अनुशासन उल्लंघनको आरोपमा ५ दिने स्पष्टीकरण सोधेको हो ।

समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य खड्का, संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमार बाबु अधिकारी र अर्का महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई पार्टी विधान विपरीत कार्य गरेको भन्दै पत्र प्राप्त भएको ५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।

केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित छुट्टाछुट्टै पत्रमार्फत उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउँदै स्पष्टीकरण सोधिएको छ ।

विपक्षी दलका उम्मेदवारलाई जिताउन भित्री रूपमा सक्रिय रहँदै उनीहरुले दलको गरिमा र अनुशासनको धज्जी उडाएको दाबी अनुशासन समितिले गरेको छ ।

पार्टी हित विपरीतका यस्ता गतिविधिहरू नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ को (क), (ख) (ग) र (घ) बमोजिम अनुशासन उल्लंघनको गम्भीर कसुर ठहरिने पत्रमा स्पष्ट पारिएको छ ।

अनुशासन समितिले उनीहरूलाई उक्त अनुशासन उल्लंघनको कसुरमा किन सजाय नगर्ने भनी प्रश्न गर्दै, यदि कारबाही गर्नु नपर्ने कुनै मनासिब आधार वा कारण भएमा विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ ।

तोकिएको समयभित्र चित्तबुझ्दो र न्यायसङ्गत स्पष्टीकरण प्राप्त नभएमा पार्टीको विधान बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने ब्यहोरा समेत पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्