काठमाडौं । मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गते ५८ वर्षे उमेरहदका कारण सेवा निवृत्त हुने भए पनि बालेन सरकारले आफ्नो अनुकूलको मुख्यसचिव कसलाई ल्याउलान् भन्ने कर्मचारी बृत्तमा व्यापक चासो छ । प्रधानमन्त्री बालेन्द्र शाहले त्यसका लागि आफ्नो सचिवालयलाई हाल कार्यरत रहेका सचिवहरुमध्येबाट मुख्यसचिव छनोट गर्न निर्देशन दिएको स्रोतले बताएको छ । वरिष्ठतम र कार्यसम्पादनभन्दा पनि सरकारले आफू अनुकूल मुख्यसचिव खोज्न थालेपछि कर्मचारी क्षेत्रमा तरंग उत्पन्न भएको छ । मुलुकको सर्वाधिक शक्तिशाली प्रशासनिक निकायको नेतृत्वको विषयले सिंहदरबारदेखि प्रशासनिक वृत्तसम्म तरंग उत्पन्न भएको छ ।

प्रधानमन्त्रीको यस्तो निर्देशनपछि विगतभन्दा फरक, असामान्य र अप्रत्यासित हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, जेष्ठ सचिवहरुमध्येबाटै एकजनाले मुख्यसचिव हुनुपर्नेमा कर्मचारीहरुले जोड दिए पनि प्रधानमन्त्रीलाई भेटेर यस्ता विषय सुनाउन नसक्दा मुख्यसचिवको नियुक्ति पनि सर्वोच्च अदालतको प्रधानन्यायाधीशजस्तै कनिष्ट हुने पनि अनुमान गरिएको छ ।
विगतमा मुख्यसचिव बन्न महिनौँअघिदेखि शक्तिकेन्द्र धाउने, राजनीतिक पहुँच बढाउने, नेताका घर धाउने र तीव्र ‘लबिङ’ चल्ने गथ्र्यो । तर यसपटक त्यो दृश्य लगभग गायब छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीकै कारण यस्तो दौडधुप हुन नसक्ने बताइन्छ ।
प्रधानमन्त्री शाह सुशासन, अनुशासन र परिणाममुखी प्रशासन निर्माणको अभियानमा सहयोग गर्ने र विवादमा नपरेको, स्वच्छ छवि भएको, फाइलमा भन्दा परिणाममा काम गर्ने र कमिलाजस्तै अनुशासित ढंगले प्रशासन चलाउन सक्ने मुख्यसचिव खोजिरहेको भन्दै कर्मचारीवृत्तमा बढी नै प्रचार गराइएको छ ।
निजामती सेवामा प्रवेश गर्ने अधिकांश कर्मचारीको अन्तिम सपना मुख्यसचिव बन्नु नै हुन्छ । तर राजनीतिक परिस्थिति, भाग्य, शक्ति समीकरण र समयका कारण त्यो अवसर निकै सीमित व्यक्तिले मात्रै पाउने गरेका छन् । हालका मुख्यसचिव सुमनराज अर्यालभन्दा अगावै तीन वरिष्ठ सचिव सेवा निवृत्त हुँदैछन् ।
सचिव मधुसुदन बुर्लाकोटी असार २१ गते सचिव पदको पाँचवर्षे अवधि पूरा गरी सेवा निवृत्त हुँदैछन् । सचिव प्रमिलादेवी बज्राचार्य असार १७ गते तथा सचिव कृष्णहरि पुष्कर असार २४ गते अवकाशमा जाँदैछन् । त्यसैले उनीहरू मुख्यसचिवको प्रतिस्पर्धाबाट लगभग बाहिरिएका छन् । अब मुख्य प्रतिस्पर्धा बाँकी रहेका ज्येष्ठ नौ सचिवबीच केन्द्रित देखिएको छ ।
वरिष्ठताको आधारमा पहिलो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरणराज शर्मा छन् । तर उनलाई विदेशी पिआर भएको आरोप लागेको छ । रक्षा मन्त्रालयमा हुँदा नै उनको अमेरिकाको पिआर भएको समाचार बाहिरिएको थियो । त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयका हरिप्रसाद मैनाली, स्वास्थ्य मन्त्रालयका डिल्लीराम शर्मा, वन मन्त्रालयका गोविन्दप्रसाद शर्मा, गृह मन्त्रालयका राजकुमार श्रेष्ठ, पूर्वाधर विकास मन्त्रालयका गोपाल सिग्देल, राष्ट्रिय योजना आयोगका रविलाल पन्थ, उद्योग मन्त्रालयका कृष्णबहादुर राउत, लोकसेवा आयोगका रामेश्वर दंगाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मुकुन्दप्रसाद निरौला मुख्य प्रतिस्पर्धामा छन् ।
यी सबै सचिव करिब उस्तै समयमा सचिवमा बढुवा भएका हुन् । निजामती सेवा ऐनको दफा १९(२) (क) अनुसार बहालवाला सचिवहरूमध्ये ज्येष्ठता र कार्यकुशलताको आधारमा नेपाल सरकारले मुख्यसचिव चयन गर्न सक्ने व्यवस्था छ । यही कानुनी प्रावधानभित्र रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । प्रधानमन्त्री शाहको सचिवालयले जेष्ठता मात्रै पर्याप्त छैन भन्ने सन्देश दिइरहेको छ ।
प्रधानमन्त्री शाहले कार्यसम्पादन मूल्यांकन, प्रशासनिक क्षमता, नैतिक छवि, इमान्दारिता, निर्णय क्षमता र सुशासनप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाउन सक्ने चर्चा चलाएर यही नै सचिव मुख्यसचिव हुन्छन् भन्ने अवस्था छैन ।
त्यसैले मुख्य सचिवमा जोसुकै नियुक्त भए पनि धेरैलाई आश्चर्य नलाग्ने अवस्था बनेको छ । किरणराज शर्मा मुख्यसचिव नबनेमा वा त्यसपछिका पनि मुख्यसचिव बन्न नसक्ने अवस्था आएमा हरिप्रसाद मैनाली साउन १९ गते, गोविन्दप्रसाद शर्मा साउन २५ गते, डिल्लीराम शर्मा भदौ ३ गते, राजकुमार श्रेष्ठ भदौ १६ गते, गोपाल सिग्देल असोज १४ गते, रविलाल पन्थ असोज १९ गते, कृष्णबहादुर राउत पुस २१ गते, रामेश्वर दंगाल माघ १७ गते र मुकुन्दप्रसाद निरौला फागुन ५ गते सेवा निवृत्त हुने अवस्था छ ।
अहिलेको दौडमा रहेका नौ जनामध्ये जो मुख्य सचिव बन्छन्, बाँकी आठ जनाको मुख्य सचिव बन्ने सम्भावना हुँदैन । हाल सचिव रहेका लोकनाथ पौडेल, बाबुराम अधिकारी र महादेव पन्थ पनि केही समयभित्रै ५८ वर्षे उमेरहदका कारण अवकाशमा जाँदैछन् । पौडेल साउन ७ गते, अधिकारी भदौ ४ गते र पन्थ माघ १ गते सेवा निवृत्त हुने भएकाले उनीहरू मुख्यसचिवको दौडमा खासै बलिया दाबेदार मानिएका छैनन् ।
संघीय निजामती सेवा ऐन ल्याउने सरकारी तयारीले पनि मुख्य सचिवको समीकरणलाई प्रभावित पार्न सक्छ । यदि सरकारले चर्चामा रहेको ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको व्यवस्था असार मसान्तअघि नै लागू गर्यो भने अहिलेको समीकरण पूर्ण रूपमा उलटपुलट हुनसक्छ । त्यस्तो अवस्थामा किरणराज शर्मा, हरि मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ र गोपाल सिग्देल तत्काल अवकाशमा जानुपर्ने अवस्था आउन सक्छ ।
त्यसपछि जेष्ठताका आधारमा रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला मात्रै मुख्यसचिवको दौडमा बाँकी रहने सम्भावना देखिन्छ ।
मुख्यसचिवको प्रतिस्पर्धामा अहिलेका नौ सचिवपछि दोस्रो तहमा श्रम मन्त्रालयका सचिव दीपक काफ्ले, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडी तथा त्यसपछि सचिव बनेका घनश्याम उपाध्याय, दिनेश घिमिरे, राधिका अर्याल, विश्वबाबु पुडासैनी, चुडामणि पौडेल, केदारनाथ शर्मा, गोविन्दबहादुर कार्की, लक्ष्मीकुमारी बस्नेत, अमृतबहादुर राईलगायतका सचिवहरुलाई पनि भावी मुख्यसचिवको प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।














