Logo
Logo

विभिन्न फरार आरोपी विदेशबाट धमाधम पक्राउ, कहाँ छन् जीबी ?


819
Shares

काठमाडौं । सरकारले सहकारी ठगीको आरोपबाट फरार अभियुक्त गितेन्द्रबाबु (जीबी) राईलाई खोजी गर्न छाडेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्धा फिर्ता भएपछि त झनै प्रहरीले जीबी राईको नाम सुन्न पनि चाहेको छैन ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले दुई वर्ष अघि विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष राई र निजका आफन्तको नाममा प्रचलित सहकारी कानुन विपरीत ऋण तथा पेश्की गरी जम्मा २ अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम पठाइ अपचलन भएको उल्लेख गरेको थियो ।

तत्कालीन प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले उक्त रकममध्ये ६५ करोड ५४ लाख चार हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातमा जम्मा भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेर राईलाई थप अनुसन्धान गर्न सिफारिस गरेका थिए । त्यसअघि नै प्रहरीले सहकारी ठगीमा राईलाई फरार आरोपीको रुपमा खोजी गरिरहेको जनाएको थियो ।

स्रोतका अनुसार हाम्रो नयाँ कृषि सहकारीको बचत रकम अपचलनमा संलग्न भएको उजुरीका आधारमा सहकारी विभागले सहकारी अध्यक्ष राईसहित सञ्चालक समितिको राहदानी रोक्का राख्न पत्राचार गरेको बेला त्यसको आठ दिनमै राहदानी फुकुवाका लागि सहकारी विभागले जीबी राईका मात्रै राहदानी फुकुवा गर्न अध्यागमन विभागलाई पत्राचार गरेर उनलाई भाग्ने बाटो खुलाएको थियो ।

सहकारी विभागले सञ्चालक समितिका सात जनाको राहदानी रोक्का राख्न २०८० असार २० मा अध्यागमन विभागमा पत्राचार गरेको थियो । तर, असार २८, २०८० मा जीबी राईको मात्रै राहदानी फुकुवा गर्न सहकारी विभागले अध्यागमन विभागलाई पत्राचार गरेको थियो । त्यतिबेला सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरे थिए भने गृहमन्त्रीमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अध्यागमन विभागका प्रमुख सहसचिव झलकराम अधिकारी थिए ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उक्त तथ्य उल्लेख भएको देखिएको हो । सहकारी विभागले राईको राहदानी रोक्का राख्न अध्यागमन विभागमा सिफारिस गरेको चार दिनपछि राई वीरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको बचत फिर्ता गर्न महानगर पुगेर लिखित प्रतिबद्धता नै जनाएका थिए ।

असार २४ मा महानगरले सहकारी सञ्चालक समितिलाई छलफलमा बोलाएकोमा बचत फिर्ता गर्ने भन्दै राईले हस्ताक्षर नै गरेका थिए । यसरी सहकारी बचत रकम अपचलनमा संलग्न भएको भन्दै प्रहरीमा जाहेरी पर्न सुरु भएपछि उनी त्यसबेलादेखि नै फरार रहेका उनीलाई अहिलेसम्म प्रहरीले फेला परेका छैन । त्यसपछि रवि लामिछाने दुई पटक गृहमन्त्री बने । लामिछाने गृहमन्त्री भएको बेला प्रहरीले वास्ता गर्ने कुरै भएन । रमेश लेखक गृहमन्त्रीमा आएपछि खोजी गरेजस्तो गरेपनि फेला पार्न सकेन । अहिले प्रहरीको ध्यान त्यता छैन । जीबीलाई छल्नका लागि प्रहरीले विभिन्न बहानामा अन्य फरार अपराधीलाई पक्राउ गरिरहेको छ ।

प्रहरीले इन्टरपोलमार्फत टिकटकर तुलसी अधिकारीलाई थाइलैण्डबाट पक्राउ गरेर नेपाल ल्यायो । २०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि गत साता अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।

त्यसयता उनलाई प्रहरीले २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा उनीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा छ । कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् ।

उनीहरुका विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो । चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।

गत माघ २८ गते १० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई फिलफिन्सबाट पक्राउ गरेर काठमाडौं ल्याइयो । फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बिआई) ले आफ्नो भगौडा खोजी इकाइ (एफएसयू) मार्फत फिलिपिन्स नेसनल पुलिस (पिएनपी) सँग संयुक्त कारबाही गर्दै बुलाकान प्रान्तको मालोलोस सिटीबाट उनलाई पक्राउ गरेर नेपाल प्रहरीलाई जिम्मा दियो ।

स्रोतका अनुसार उनलाई डिसेम्बर ३१ मा मालोलोस सिटी–६, बाराङ्गे क्याटमोनस्थित पासेओ दे कङ्ग्रेसो क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायतलाई इमेलमार्फत उनले ज्यान मार्ने धम्की दिएका थिए ।

पिसिटिसीले काठमाडौं जिल्ला अदालतले सन् २०२५ डिसेम्बर १ मा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा पाठकविरूद्ध पक्राउ पुर्जी जारी गरेको जानकारी बिआईलाई गराएको थियो । यसैगरी, डिसेम्बर १२ मा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले पाठकविरूद्ध जबर्जस्ती असुली र आपराधिक षड्यन्त्र अभियोगमा डिफ्युजन नोटिस जारी गरेको थियो ।

गत वैशाख ३१ गते वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका अभियुक्त सुवास लावतीलाई काठमाडौं ल्याइयो । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ निवासी ३६ वर्षीय लावतीलाई ल्याएर थप अनुसन्धान गरी अदालतमा बुझाइयो ।

एनसिबी अबुधाबी, युएईको समन्वयमा उनलाई युएईबाट पक्राउ गरिएको थियो ।लावतीले आकर्षक तलबको प्रलोभन देखाएर सर्बिया पठाइदिने भन्दै पीडितबाट विभिन्न मितिमा ११ लाख ६१ हजार रुपैयाँ बैंक खातामा जम्मा गराई ठगी गरेका थिए । यस घटनापछि फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले ०८२ साउन २६ गते रेड नोटिस जारी गरेको थियो ।

गत २०८१ माघ १० गते मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी बर्दियाको बढै्याताल गाउँपालिका–२ घर भई काठमाडौको टोखा नगरपालिका–३ बस्ने विनोद पौडेललाई ल्याइको थियो । एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ गरेर ल्याइएको थियो । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत पुस १२ मा रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्