Logo
Logo

मन्त्री भण्डारीलाललाई बर्खास्त नगरे अदालत जाने जसपा नेपालको चेतावनी


252
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका भण्डारीलाल अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ ।

पार्टी प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गरेर लुम्बिनी प्रदेश सरकारले अहिरलाई मन्त्री पदको शपथ गराएको भन्दै तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो यस न्यायसङ्गत र कानुनी मागलाई नजरअन्दाज गरिएमा सम्मानित अदालतको मानहानी गर्ने तथा बलमिच्याइँमा उत्रिने लुम्बिनी प्रदेश प्रमुख, मुख्यमन्त्री र एमाले–कांग्रेस सत्ता गठबन्धनविरुद्ध जसपा नेपाल सशक्त कानुनी प्रक्रियामा जान बाध्य हुने जानकारी गराउँदछौँ ।’

सर्वोच्च अदालतले जसपालाई अमान्य ठहर गर्दै जसपा नेपाललाई वैधानिकता प्रदान गरिसकेको अवस्थामा अहिरको मन्त्री नियुक्ति असंवैधानिक भएको बताएका हुन् ।

अदालतको फैसलासँगै दल विभाजनसम्बन्धी गैरकानुनी प्रक्रिया स्वतः खारेज भएको र सबै जनप्रतिनिधि तथा नेता–कार्यकर्ता कानुनी रूपमा जसपा नेपालकै मातहत रहेको दाबी गरिएको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि आधिकारिक जानकारी गराउँदा गराउँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एमाले–कांग्रेस सत्ता गठबन्धनको आडमा राजनीतिक नैतिकता र लोकतान्त्रिक मूल्य–मान्यतालाई बेवास्ता गरेको जसपा नेपालको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्